म्यानमार र थाइल्याण्डमा आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १,७०० जनाले ज्यान गुमाएका छन् भने करिब ३,४०० जना घाइते भएका छन्। देशको सैन्य सरकारले दिएको जानकारीअनुसार अझै ३०० जना बेपत्ता छन्।
प्रशासनका अनुसार मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृतक संख्या १०,००० नाघ्न सक्ने जनाएको छ।
भूकम्पको केन्द्रबाट सयौं माइल टाढा रहेको थाईल्यान्डको बैंककमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। तीमध्ये १० जना निर्माणाधीन भवन भत्किँदा मारिएका हुन् । अन्य सात जनाको मृत्यु विभिन्न स्थानमा भएको बताइएको छ।
बैंककमा उद्धार कार्य जारी छ, जहाँ अझै ८० जना हराइरहेका छन्। हराएका व्यक्तिहरूको खोजी भइरहेकाले परिवारका सदस्यहरू ठूलो आशाका साथ घटनास्थलमा भेला भएका छन्।
शहरका गभर्नरका अनुसार बैंककमा हालसम्म ९,५०० भवन क्षतिग्रस्त भएको विवरण प्राप्त भएको छ। यद्यपि, भत्किएको धरहरा (टावर)बाहेक अन्य स्थानहरूमा ठूला क्षति भएको कुनै विवरण आई नसकेको सिएनएनले जनाएको छ ।
यस भूकम्पले म्यानमारमा एक शताब्दीभन्दा लामो समयपछि सबैभन्दा ठूलो धक्का दिएको छ। यसअघि सन् १९१२ मा केन्द्रीय म्यानमारको ताउङ्गीमा ७.९-परिमाण (रेक्टर स्केल)को भूकम्प गएको थियो।
यस भूकम्पपछि लगातार पराकम्पन गइरहेका छन्। गत शुक्रबार सबैभन्दा ठूलो ६.७ को पराकम्पनको महसुस गरिएको थियो।
प्रतिक्रिया