
वासिङ्टन डीसी, अमेरिकी राष्ट्रपतिको कार्यालय तथा निवास ‘ह्वाइट हाउस’ नजिकै शनिबार गोलीकाण्ड भएको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित रहेका छन् ।
ह्वाइट हाउसको सुरक्षा गर्ने जिम्मा पाएको अमेरिकी गुप्तचर निकाय ‘सिक्रेट सर्भिस’ का अधिकारीहरू र एक हतियारधारी युवकबीच गोली हानाहान हुँदा ती आक्रमणकारी युवकको मृत्यु भएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार गोली चल्ने समयमा राष्ट्रपति ट्रम्प ह्वाइट हाउसभित्रै थिए तर, यो घटनाबाट राष्ट्रपतिलाई कुनै पनि प्रकारको खतरा वा असर परेन र उनि पूर्ण रूपमा सुरक्षित रहेका छन् ।

यो घटना शनिबार बेलुकीपख ह्वाइट हाउस नजिकैको १७औं स्ट्रिट(गल्ली ) र पेन्सिलभेनिया एभिन्यु(मार्ग)मा रहेको सुरक्षा जाँच चौकी (चेकपोइन्ट) मा भएको हो। त्यहाँ खटिएका सुरक्षाकर्मीहरूका अनुसार एकजना युवक आफ्नो झोलाबाट हतियार निकाल्दै अचानक सुरक्षा चौकीमा रहेका अधिकारीहरूमाथि गोली बर्साउन थाले।
आक्रमण भएलगत्तै त्यहाँ तैनाथ गुप्तचर सेवाका गुप्तचरहरूले बडो चलाखी र द्रुत गतिमा जवाफी कारबाही गरे। सुरक्षाकर्मीको गोली लागेर ती आक्रमणकारी घाइते भए। उनलाई तुरुन्तै अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो।
को थिए आक्रमणकारी?
सुरक्षा स्रोतहरूका अनुसार गोली चलाउने युवक २१ वर्षका नासिर बेस्ट भएको पहिचान गरिएको छ । उनी अमेरिकाकै मेरिल्यान्ड राज्यका बासिन्दा हुन्। अनुसन्धानका अनुसार ती युवकको मानसिक स्वास्थ्यमा समस्या थियो । यसअघि सन् २०२५ मा पनि उनी दुई पटक सुरक्षाकर्मीलाई धम्की दिएको र निषेधित क्षेत्रमा जबर्जस्ती पसेको आरोपमा पक्राउ परिसकेका थिए।
यो गोली हानाहानको बीचमा त्यहाँ बाटो हिँडिरहेका एकजना सर्वसाधारण (बाइस्ट्यान्डर) लाई पनि गोली लागेको छ। फक्सन्यूजका अनुसार उनी आक्रमणकारीको गोलीले घाइते भएका हुन् वा सुरक्षाकर्मीको गोली लागेको हो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
घाइतेको अवस्था कस्तो छ भन्नेबारे अस्पतालले जानकारी दिएको छैन। देशका उच्च अधिकारीको सुरक्षामा खटिएका कुनै पनि गुप्तचर सेवाका कर्मचारीलाई भने चोटपटक लागेको छैन।
सुरक्षाकर्मीको प्रशंसा :
यो घटनापछि अमेरिकाका गृह सुरक्षा सचिव मार्कवेन मुलिनले घटनाको नजिकबाट निगरानी गरिरहेको बताएका छन् । उनले सुरक्षाकर्मीहरूले देखाएको वीरता र तुरुन्तै चालेको कदमको ठूलो प्रशंसा गरेका छन् ।
त्यस्तै, अमेरिकी संसद्को तल्लो सदनका सभामुख (हाउस स्पीकर) माइक जोन्सनले पनि राष्ट्रपति ट्रम्पको रक्षाका लागि सुरक्षाकर्मीले खेलेको भूमिकाको कदर गर्दै घाइते नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
अमेरिकी नेताहरूले सुरक्षाकर्मीहरू हरेक दिन जनता र देशको सुरक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर काम गर्छन् भन्ने कुरा यो घटनाले फेरि प्रमाणित गरेको बताएका छन्।
अघिल्लो समाचार :
प्रतिक्रिया