बेल्जियमको रोमाञ्चक पुनरागमन ; सेनेगललाई ३–२ ले हराउँदै अन्तिम १६ मा प्रवेश

इनेप्लिज २०८३ असार १७ गते २२:५६ मा प्रकाशित

विश्वकप भकुन्डो २०२६ अन्तर्गत भएको अत्यन्तै रोमाञ्चक खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। 

खेलको अधिकांश समय सेनेगलले उत्कृष्ट प्रदर्शन गर्दै बेल्जियमलाई दबाबमा राखेको थियो। मध्यान्तर अगाडी हाबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए। मध्यान्तर पछि पनि दोस्रो इस्माइला सारले अर्को गोल थपेपछि सेनेगल २–० ले अगाडि पुगेको थियो। 

तर खेलको अन्तिम क्षणमा बेल्जियमले शानदार पुनरागमन गर्‍यो। ८६औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै अन्तर घटाए भने ८९औँ मिनेटमा युरी टिलेमान्सले टाउको मार्फत (हेड) मार्फत बराबरी गोल गरे। निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। 

अतिरिक्त समयको अन्तिमतिर श्रव्यदृश्य(भिडियो )सहायक निर्णायकको समीक्षा पछि बेल्जियमले पेनाल्टी पायो। त्यस अवसरलाई सदुपयोग गर्दै बेल्जियमले तेस्रो गोल गर्दै ३–२ को ऐतिहासिक जित निकाल्यो। 

यस जितसँगै बेल्जियम विश्वकपको अन्तिम १६ मा पुगेको छ, जहाँ उसले अमेरिका वा बोस्निया एन्ड हर्जेगोभिनामध्ये एकसँग खेल्नेछ। 

सेनेगलले उत्कृष्ट खेल प्रदर्शन गरे पनि अन्तिम केही मिनेटमा रक्षात्मक कमजोरीका कारण हार बेहोर्नुपर्‍यो। 

अर्कोतर्फ बेल्जियमले कठिन परिस्थितिबाट फर्किँदै आफ्नो अनुभव र धैर्यको परिचय दिएको छ। यो खेल विश्वकप भकुन्डो २०२६ का सबैभन्दा रोमाञ्चक खेलहरूमध्ये एक मानिएको छ। 

प्रतिक्रिया