
क्यालिफोर्निया, अमेरिका | इनेप्लिज डटकम
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित Fremont Sagarmatha Lions Club को नयाँ कार्यकाल २०२५–२०२७ का लागि अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।
निवर्तमान क्लब अध्यक्ष लायन लक्ष्मी राउत चौधरीको अध्यक्षता तथा डिस्ट्रिक्ट गभर्नर लायन लक्ष्मी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा क्लबका पदाधिकारी, सदस्य तथा समुदायका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा लायन रञ्जना पाण्डे अध्यक्ष, लायन यशोदा लामा प्रथम उपाध्यक्ष, लायन अमृत ढकाल द्वितीय उपाध्यक्ष, लायन गोविन्द प्रसाद उपाध्याय सचिव तथा लायन प्रेमबहादुर खत्री कोषाध्यक्षमा चयन भएका छन्। साथै ६ जना बोर्ड अफ डाइरेक्टरहरू पनि निर्वाचित भएका छन्।
कार्यक्रममा पूर्व जोन चेयर तथा नेपाल सरकारका निवर्तमान पर्यटन सद्भावना दूत विजयकुमार चौधरी, रिजन चेयर गोविन्द प्रसाद उपाध्याय, पूर्व क्लब अध्यक्ष कोमल डोटेल, निवर्तमान प्रथम उपाध्यक्ष सुशीला खनाल लगायत समुदायका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
अधिवेशनलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लायन लक्ष्मी राउत चौधरीले आफ्नो कार्यकाल (२०२५–२०२६) मा क्लबले सदस्यता विस्तार तथा समयमै नवीकरण, मोमो फेस्टिभल, होली महोत्सव, रक्तदान कार्यक्रम, घरबारविहीनहरूलाई खाद्यान्न वितरण, फन्डरेजिङ, Lions District 4-C3 का विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता तथा अन्य सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै उल्लेखनीय सामाजिक सेवाका कार्यहरू सम्पन्न गरेको जानकारी दिनुभयो।
उहाँले नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा अझ प्रभावकारी र उदाहरणीय सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै अधिवेशन सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष लायन रञ्जना पाण्डेले अग्रजहरूको अनुभव र मार्गदर्शनलाई आत्मसात गर्दै सम्पूर्ण कार्यसमितिसँग समन्वय गरी नवीन सोचका साथ प्रभावकारी सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निवर्तमान अध्यक्ष लायन लक्ष्मी राउत चौधरीको नेतृत्वमा सम्पन्न सामाजिक सेवामूलक कार्यहरूको उच्च प्रशंसा गरेका थिए।

क्लबका नवनिर्वाचित पदाधिकारीहरूको Club Installation (शपथग्रहण तथा पदहस्तान्तरण) कार्यक्रम आगामी अगस्त महिनाको अन्तिम साता आयोजना गरिने जानकारी आयोजकले दिएका छन्।
इनेप्लिज डटकम परिवार नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ।
प्रतिक्रिया