
न्यूयोर्क, अमेरिका । अमेरिकाको न्यूयोर्कको प्रसिद्ध एम्पायर स्टेट भवनको सबैभन्दा माथिल्लो एन्टेनामा दुई जना व्यक्ति चढेर प्रेम र शान्तिको सन्देश लेखिएको ध्वजा(ब्यानर )फहराएका छन्।
उनीहरूले करिब १,४५४ फिट (४४३ मिटर) उचाइमा पुगेर यस्तो जोखिमपूर्ण प्रदर्शन गरेका थिए। केही समयपछि उनीहरू सुरक्षित रूपमा तल झरे पनि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो भएको यस घटनामा ती दुई जना कालो लुगा र अनुहार ढाक्ने मास्क लगाएका थिए। उनीहरूले कुनै सुरक्षा डोरी (सेफ्टी टेथर) प्रयोग गरेको देखिएको थिएन।
उनीहरू भवनको साँघुरो भागमा सन्तुलन मिलाउँदै उभिएका थिए। त्यसपछि उनीहरूले “जब प्रेमको शक्ति, शक्तिप्रतिको प्रेमभन्दा बलियो हुन्छ, तब संसारले शान्ति पाउँछ” भन्ने सन्देश लेखिएको ब्यानर फहराए।
केही समयपछि उनीहरू सावधानीपूर्वक तल झर्न थाले। तल झरेपछि उनीहरूले एकअर्कालाई अँगालो हाले, चुम्बन गरे र स्वयमको तस्विर(सेल्फी )पनि खिचे।
घटनास्थलमा उपस्थित प्रहरीले दिउँसो १ बजेपछि दुवै जनालाई नियन्त्रणमा लियो। उनीहरूको नाम भने तत्काल सार्वजनिक गरिएको छैन। यस घटनामा कुनै पनि व्यक्ति घाइते नभएको प्रहरीले जनाएको छ।
यो दृश्य देख्न भवन बाहिर धेरै मानिसहरू जम्मा भएका थिए। स्कटल्यान्डको ग्लासगो शहरबाट घुम्न आएका पर्यटक जोनाथन रोमनले यो दृश्य चलचित्रजस्तै लागेको बताए। उनी आफ्नो १५ वर्षीय छोरासँग भवनको अवलोकन स्थलमा जाने योजना बनाएर आएका थिए। तर सुरक्षा कारणले भवन केही समयका लागि बन्द गरिएकाले उनीहरू भित्र जान पाएनन्। रोमनले भने, “सायद दोस्रो पटक माथि जानुभन्दा यो दृश्य अझ रोमाञ्चक बन्यो।”
एपिका अनुसार भवनमा काम गर्ने कर्मचारीहरू पनि छक्क परेका थिए। कडा सुरक्षा जाँच हुने यस्तो चर्चित भवनमा ती दुई जना कसरी माथिसम्म पुगे भन्ने विषयमा अहिले धेरैले प्रश्न उठाइरहेका छन्।
एक कर्मचारी जेसिका क्याप्लानले भनिन्, “उनीहरू सुरक्षा जाँच पार गरेर कसरी भित्र पुगे, म अझै विश्वास गर्न सकिरहेकी छैन।”
प्रतिक्रिया