
अदालतमा दोभाषे नहुँदा ममता काफ्ले हत्याकाण्डको बुधबारको सुनुवाइ रद्ध भएको छ । आफ्नी पत्नी ममता काफ्लेको हत्याको आरोपी र कारागारमा जीवन व्यतित गरि रहेका ममताका पति नरेश भट्टले दोभाषेको माग गरेका थिए । तर दोभाषे फेला नपरे पछि जुन ३ ,बुधबार हुने भनिएको अदालतको सुनुवाई रद्ध भएको हो ।
यो मुद्धा भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टी अदालतमा चलिरहेको छ। आफ्नी श्रीमतीको हत्या गरेर शव लुकाएको गम्भीर आरोप लागेका नरेश भट्टका वकिलहरूले उनलाई जेलबाट धरौटीमा छाड्न माग गर्दै निवेदन दिएका थिए। सोही विषयमा बुधबार बिहान ९:३० बजे अदालतमा एउटा महत्त्वपूर्ण सुनुवाइ हुने तय भएको थियो। तर, अन्तिम समयमा आएर यो सुनुवाइ स्थगित भएको हप । अदालतमा भाषा अनुवाद गरिदिने दोभाषे उपलब्ध हुन नसकेका कारण बुधबारको सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ।
अझैसम्म ममताको शव भेटिएको छैन, जसले गर्दा यो त्रासदी झन् रहस्यमय र पीडादायी बनेको छ। तर हालै सार्वजनिक भएको एउटा नयाँ र डरलाग्दो वैज्ञानिक अनुसन्धान (फरेन्सिक) प्रतिवेदनले सबैको मुटु काँपेको छ।
अनुसन्धानकर्ताहरूले भट्टको घरबाट एउटा हातले चलाउने बिधुतिय करौती (electrical saw) फेला पारेका थिए। विज्ञान प्रयोगशालाको प्रतिवेदन अनुसार, उक्त करौतीमा मानव शरीरका ३ वटा रौं र १३ वटा रौंका टुक्राहरू भेटिएका छन्, जसलाई डीएनए परीक्षणका लागि पठाइएको छ।
नरेश भट्टलाई सुरुमा शव लुकाएको आरोप लागेको थियो, तर प्रमाणहरू बलियो हुँदै गएपछि उनीमाथि हत्याको कडा मुद्दा चलाइएको छ । नरेशमाथि आगामी अक्टोबर ५ देखि मुख्य मुद्दाको सुनुवाइ सुरु हुँदैछ ।
प्रतिक्रिया