ममता काफ्ले हत्याकाण्डमा नयाँ र डरलाग्दो प्रमाण: काठ काट्ने आरामा भेटियो मानिसको कपाल, अभियुक्त श्रीमान् नरेशलाई झन् गाह्रो

नरेशमाथि आगामी अक्टोबर ५ देखि मुख्य मुद्दाको सुनुवाइ सुरु हुँदै

इनेप्लिज २०८३ जेठ १४ गते १:१६ मा प्रकाशित

ममता काफ्ले भट्टको विभत्स हत्याकाण्डले सिङ्गो नेपाली समुदायलाई अझै पनि गहिरो शोकमा डुबाइरहेको छ। यसैबीच, अदालतमा पेश गरिएको एउटा नयाँ र डरलाग्दो फरेन्सिक (वैज्ञानिक) प्रमाणले हत्याका आरोपी श्रीमान् नरेश भट्टलाई कानुनी रूपमा निकै अप्ठ्यारोमा पारेको छ।

डब्लुयुएसए९ मा प्रकाशित समाचार अनुसार र नयाँ अदालतको प्रतिवेदन अनुसार, प्रहरीले नरेशको घरबाट बरामद गरेको काठ वा फलाम काट्ने एउटा विद्युतीय आरी मा मानिसको ३ वटा कपाल र १३ वटा कपालका टुक्राहरू फेला पारेको छ।

वैज्ञानिकहरूले यी कपालहरू डिएनए परीक्षणका लागि उपयुक्त भएको बताएका छन्। यसअघि सन् २०२४ को डिसेम्बरमा सोही आरीमा र घरको कोठा तथा स्नानगृहमा ममताको डिएनएसँग मिल्ने रगत फेला परिसकेको थियो।

प्रहरीका अनुसार नरेशले ममताको हत्या गरेर शवलाई टुक्रा-टुक्रा पारेका थिए। वरिष्ठ वकिलहरूका अनुसार यदि यो कपाल पनि ममताकै प्रमाणित भयो भने, यो प्रमाण नरेशको बचाउ पक्षका लागि ‘विनाशकारी प्रहार’ हुनेछ । उनले कडा सजाय पाउने निश्चित छ। नरेशमाथि आगामी अक्टोबर ५ देखि मुख्य मुद्दाको सुनुवाइ सुरु हुँदैछ।

यो कानुनी लडाइँको पर्दापछाडि एउटा अत्यन्तै कारुणिक र भावुक पारिवारिक कथा लुकेको छ। ममताकी वृद्ध आमा गीता काफ्ले र भाइ महेश काफ्ले आफ्नी प्यारी छोरी र दिदीलाई न्याय दिलाउन नेपालबाट अमेरिका आएका छन्। उनीहरूले ममता बेपत्ता हुँदा केवल एक वर्षकी रहेकी उनकी सानी अबोध छोरी (नातिनी) को हेरचाह गरिरहेका छन्।

आफू निर्दोष रहेको दाबी गर्दै आएका नरेश भट्ट धरौटी बिना नै कारागारमा रहेका छन्।

अदालतको कागजात अनुसार, भर्जिनिया फरेन्सिक विज्ञान विभागबाट विश्लेषण गरिएको एउटा प्रमाणपत्र अप्रिल २९ मा प्रहरीकहाँ पठाइएको थियो, तर त्यसलाई मे १९ मा मात्र दर्ता गरेर सार्वजनिक गरियो।

त्यसमा “सामग्री ३१६” चिन्ह लगाइएको एउटा प्रमाण समावेश थियो, जसलाई “आरीबाट निकालिएको कपाल जस्तो देखिने त्यान्द्रो” भनी संकेतपत्र (लेबल )गरिएको थियो। “घरभित्र बरामद गरिएको विद्युतीय आरीमा भेटिएका ती ‘कपाल जस्ता त्यान्द्रोहरू’ अनुसन्धानका लागि निकालिएको कुरा अदालतको कागजातमा स्पष्ट पारिएको छ।”

अमेरिका मात्र नभई संसार भरिका सिङ्गो नेपाली समाजले अहिले ममताका लागि न्याय र यो पीडित परिवारका लागि भगवानसँग प्रार्थना गरिरहेको छ।

प्रतिक्रिया