अमेरिकाद्वारा इरानका सैन्य केन्द्रहरूमा पुनः प्रहार

इनेप्लिज २०८३ असार १३ गते २२:१२ मा प्रकाशित

अमेरिका, २७ जुन २०२६ । विश्वको महत्त्वपूर्ण व्यापारिक मार्ग ‘हर्मुज जलमार्ग’मा फेरि एकपटक तनाव बढेको छ। 

अमेरिकाको सेन्ट्रल कमान्डले दिएको जानकारी अनुसार, जुन २७ का दिन अमेरिकी सेनाले इरानका विभिन्न सैन्य स्थानहरूमा हवाइ हमला गरेको छ।

यो घटनाको सुरुवात केही दिन अघि भएको थियो। केही समयअघि अमेरिका र इरानबीच युद्धविरामको सहमति भएको थियो। तर, इरानले ‘एम/भी एभर लभ्ली’ नामक जहाजमा आक्रमण गरेपछि परिस्थिति बिग्रियो। 

त्यसको जवाफमा अमेरिकाले शुक्रबार इरानका केही सैन्य केन्द्रहरूमा प्रहार गरेको थियो। अमेरिकाले इरानलाई शान्ति कायम राख्ने मौका दिएको थियो, तर इरानले त्यसलाई बेवास्ता गर्‍यो।

शनिबार बिहान करिब ४:३० बजे, इरानी सेनाले एक ‘वन-वे’ (एकतर्फी) हमला गर्ने मानव रहित यान( ड्रोन) प्रयोग गरी ‘एम/टी किकु’ नामक तेल बोकेको जहाजमा प्रहार गर्‍यो। 

यो जहाज पानामाको झण्डा बोकेको ठूलो ट्यांकर हो, जसले २० लाख ब्यारेल भन्दा बढी कच्चा तेल बोकेर हर्मुजको जलमार्ग हुँदै यात्रा गरिरहेको थियो।

यो आक्रमणपछि अमेरिकाले तत्काल कडा कदम चालेको छ। अमेरिकी लडाकु विमानहरूले इरानका सैन्य निगरानी केन्द्रहरू, सञ्चार प्रणालीहरू, हवाइ प्रतिरक्षा साइटहरू , क्षेप्यास्त्र (ड्रोन )भण्डारण गर्ने ठाउँहरू र माइन बिछ्याउने क्षमतालाई निशाना बनाएका छन्।

अमेरिकी सेनाको भनाइ अनुसार, इरानको यो कदमले अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको सुरक्षामा गम्भीर खतरा पैदा गरेको छ र युद्धविरामको सहमतिलाई तोडेको छ। 

हाल हर्मुजको जलमार्गबाट अन्य व्यापारिक जहाजहरूको आवतजावत जारी छ। अमेरिकी सेनाले उनीहरू सतर्क रहेको जनाएको छ । आफ्नो व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्न तयार छन्।

प्रतिक्रिया