अमेरिकाको २५ करोड डलर ठगी काण्डका मुख्य आरोपी चार वर्षपछि सोमालियाबाट समातिए

इनेप्लिज २०८३ असार १३ गते १८:५० मा प्रकाशित

अमेरिकामा कोरोना महामारीका बेला भएको सबैभन्दा ठूलो आर्थिक ठगी प्रकरणका एक प्रमुख आरोपीलाई चार वर्षभन्दा बढी समय फरार रहेपछि सोमालियाबाट पक्राउ गरिएको छ।

४२ वर्षीय अब्दिकेरम इडलहलाई बिहीबार सोमालियाको राजधानी मोगादिसु मा गरिएको संयुक्त कारबाहीमा पक्राउ गरिएको हो। यो अभियान अमेरिकी एफबीआई र सोमाली गुप्तचर निकायले मिलेर सञ्चालन गरेका थिए।

अमेरिकी अधिकारीहरूका अनुसार इडलह महामारीका बेला सञ्चालन गरिएको “फिडिङ आवर फ्युचर नामक कार्यक्रममा भएको करिब २५ करोड अमेरिकी डलर बराबरको ठगी काण्डका मुख्य योजनाकारमध्ये एक हुन्। 

उनीविरुद्ध सन् २०२२ को सेप्टेम्बरमै मुद्दा दायर गरिएको थियो।

मिनेसोटाका अमेरिकी सरकारी वकिल ड्यानियल रोजेन ले इडलहलाई “ठूलो माछा” अर्थात् यस ठगी काण्डका सबैभन्दा महत्वपूर्ण व्यक्तिमध्ये एक भएको बताए। 

उनका अनुसार इडलहले विभिन्न चमेनागृह(रेस्टुरेन्ट )र खानपान सेवा दिने व्यवसायलाई झुटा बिजक(बिल )बनाउन लगाएर सरकारबाट बढी रकम फिर्ता लिन सहयोग गरेका थिए। त्यसबापत उनले करिब ५० लाख अमेरिकी डलर घुस र अवैध रकम प्राप्त गरेको अनुसन्धानमा उल्लेख छ।

अधिकारीहरूले उनीमाथि तारमार्फत गरिएको ठगी, घुसखोरी, अवैध रूपमा कमाएको पैसा लुकाउने तथा षड्यन्त्र गरेको आरोप लगाएका छन्।

यसअघि यही प्रकरणकी मुख्य आरोपी एमी बकलाई अदालतले ४० वर्षभन्दा बढी जेल सजाय सुनाइसकेको छ। सरकारी वकिलका अनुसार इडलह उनीपछि दोस्रो प्रमुख व्यक्ति थिए।

एफबीआईका अधिकारी क्रिस्टोफर डटसन ले यस पक्राउले अमेरिकी कानुन संसारको जुनसुकै ठाउँसम्म पुग्न सक्ने सन्देश दिएको बताए। उनका अनुसार फरार भएर अर्को देशमा लुके पनि अपराधीहरू सुरक्षित रहन सक्दैनन्।

हालसम्म यस ठगी काण्डमा ७९ जनामाथि आरोप लगाइएको छ। तीमध्ये ६६ जना दोषी ठहर भइसकेका छन् वा आफ्नो अपराध स्वीकार गरिसकेका छन्

अनुसन्धानकर्ताहरूका अनुसार मिनेसोटा राज्यमा बाल हेरचाह, आवास, स्वास्थ्य सेवा लगायतका सरकारी सामाजिक कार्यक्रमहरूमा पनि यस्तै प्रकारका ठगी भएका छन्। 

सरकारी अधिकारीहरूको अनुमानमा यस्ता सबै ठगीको कुल रकम १ बिलियन अमेरिकी डलरभन्दा बढी हुन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया