महिलाको सक्रियतामा सडक निर्माण

इनेप्लिज २०७३ असार १३ गते ५:३३ मा प्रकाशित

the-stone-road-1881बाबियाचौर (म्याग्दी), १३ असार । म्याग्दी र पर्वतको सीमा क्षेत्रमा महिलाको सक्रियतामा सडक आयोजना निर्माण भएको छ ।

जिविस, म्याग्दीमार्फत २०७२ चैत २३ गते सुरु भएको फलामेडाँडा–राम्चे–नागी सडक आयोजना महिला उपभोक्ताको सक्रियताका कारण निर्धारित समयभन्दा डेढ महिना अघि सम्पन्न भएको हो ।

रु २० लाख लागतमा २०७३ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने आयोजना जेठ १५ गतेनै सम्पन्न भएको हो । एक किलोमिटर सडकमा ढुङ्गा बिच्छ्याएर गर्नुपर्ने आयोजनामार्फत लक्ष्यभन्दा थप ३० मिटर बढी काम भएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण गर्बुजाले जानकारी दिनुभयो ।

उपभोक्ता समितिमा रहेका र गाउँका महिलाको सक्रियताका कारण निर्धारित समयभन्दा अघिनै लक्ष्यभन्दा बढी काम गरिएको अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनामा श्रमदान र मजदुरको रुपमा महिला सक्रिय भएर खटिएका थिए । सात जनाको उपभोक्ता समितिमा चार जना महिला छन् । सत्र मिटरको बाहेक अरु सबै काम महिलाले गरेका हुन् ।

नाङ्गी, राम्चे, फलामेडाँडा, कुवापानी, लोप्रे, डाँडाकटेरी गाउँका महिलाले श्रमदान र मजदुरी गरेर आयोजना निर्माण गरेको उपभोक्ता समितिका कोषाध्यक्ष ललिता तिलिजाले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका कारण गाउँमा पुरुष नभएको, बाहिरबाट मजदुर ल्याउँदा ढिलाइ हुने, लागत बढ्ने भएकाले स्थानीय महिलानै आयोजनाको काममा खटिएको तिलिजाको भनाइ छ ।

उहाँका अनुसार रु दुई लाख चार हजार बराबरको श्रमदानका अतिरिक्त आयोजनामा खटिएका महिलाले करिब रु १५ लाख ज्यालाबापत आम्दानी गरेका छन् । दैनिक ८० देखि १०० जना महिला आयोजनाको काममा खटिएका थिए । पर्वतको लेकफाँटदेखि म्याग्दीको पर्यटकीयस्थल नाङ्गी जोड्ने सो सडक मर्मत, सुधार भएपछि आवतजावत सहज भएको छ ।
करिब १० किलोमिटर दूरीको फलामेडाँडा–नाङ्गी सडकअन्तर्गत जिविस पर्वतको रु आठ लाख सहयोगमा फलामेडाँडा क्षेत्रको ५०० मिटर सडकमा पनि ढुङ्गा बिछ्याएर काम भइरहेको छ । अझै दुई किलोमिटर दूरीमा ढुङ्गा बिछ्याउन आवश्यक रहेको उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया