युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै रक्षामन्त्री, परराष्ट्रमन्त्री, सैन्य प्रमुख, गुप्तचर विभाग र सुरक्षा सेवाबाट प्राप्त प्रतिवेदनहरूबारे जानकारी दिएका छन्। उनले युक्रेनको रक्षा, कूटनीति र सक्रिय कदमहरूको समीक्षा गर्दै भने, “हामी हाम्रो स्वतन्त्रता, राष्ट्र र जनतालाई जोगाउन सक्दो प्रयास गरिरहेका छौं।”
सोमबार इस्तानबुलमा हुन लागेको रुससँगको प्रत्यक्ष वार्ता अघि उनले युक्रेनी पक्षको स्पष्ट कार्यसूची सार्वजनिक गरेका छन्। उनका तीन प्रमुख मागहरूमा
पहिलो – पूर्ण र शर्तविहीन युद्धविराम, दोस्रो – युद्धबन्दीहरूको रिहाइ तथा तेस्रो – अपहरण गरिएका बालबालिकाको स्वदेश फिर्ता ।
जेलेन्स्कीले भने, “स्थायी र विश्वसनीय शान्ति कायम गर्न, र सुरक्षाको प्रत्याभूतिका लागि उच्चस्तरीय बैठकको तयारी अत्यावश्यक छ। यस्ता संवेदनशील विषयहरू नेताहरूले नै समाधान गर्न सक्छन्।”
सोमबार हुने वार्तामा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व रक्षा मन्त्री रुस्तेम उमेरोभले गर्ने समेत जानकारी गराए । यो घोषणा त्यस्तो समय आएको हो जब रुसले युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठूलो मानव रहित यान (ड्रोन) हमला गरेको छ। युक्रेनी वायु सेनाका अनुसार, रुसले एकैपटक ४७२ मानव रहित यान (ड्रोन) प्रक्षेपण गरेको थियो। साथै, सातवटा क्षेप्यास्त्र (मिसाइल)समेत प्रहार गरिएको थियो।
युक्रेनी सेनाले आइतबार बिहान जानकारी दिँदै रूसी मिसाइल आक्रमणले एक सैनिक तालिम केन्द्रमा कम्तीमा १२ युक्रेनी सैनिकको ज्यान गएको र ६० भन्दा बढी घाइते भएको जनाएको छ। यसअघि युक्रेनले रुससँगको वार्तापूर्व युद्ध अन्त्यबारे स्पष्ट लिखित प्रस्ताव मागेको थियो। रुसले आफ्नो धारणा वार्ताका क्रममा प्रस्तुत गरिने बताएको छ।
प्रतिक्रिया