सुन्तला उत्पादनबाट पर्वतमा १५ करोड भित्रियो

इनेप्लिज २०७२ चैत १८ गते १:४९ मा प्रकाशित

orange-farm-khotang-640x480फलेवास (पर्वत), १८ चैत । यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट रु १५ करोड आम्दानी भएको छ । पर्वतबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको छ ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले दिएको जानकारीअनुसार पर्वत जिल्लाबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको हो । जिल्लामा कुल ६९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा कृषकले बोटबाटै राम्रो मूल्य पाएका कारण सुन्तलाको बजारीकरणमा समस्या नपरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार यस वर्ष बोटमै ४० देखि १०० रुपैयाँ प्रतिकेजीसम्म सुन्तला बिक्री भएको थियो । किसानले सुरुमा बोटबाटै ४० रुपैयाँमा बिक्री गरेका थिए भने अन्तिम समयसम्म उत्तरी पर्वतको बाँसखर्कका किसानले १०० रुपैयाँसम्ममा बिक्री गरेका थिए । गत वर्ष भने किसानले ३० देखि ६० रुपैयाँ प्रतिकेजीसम्म सुन्तलाको मूल्य पाएका थिए । अघिल्लो वर्ष पर्वतमा सुन्तला बिक्रीबाट १० करोड आम्दानी भएको थियो । जिल्लामा यस वर्ष झन्डै २०० हेक्टर क्षेत्रफलमा नयाँ सुन्तलाका बिरुवा रोपिएको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको बाँसखर्क, शालिजा, देउपुर, पाङराङ, धाइरिङ लगायतका गाविसमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । प्रतिकिसान १० लाखदेखि न्यूनतम ५० हजार रुपैयाँसम्म किसानले सुन्तला खेतीबाट आम्दानी गर्दै आइरहेका छन् ।

पर्वतको सुन्तला पोखरा हुँदै चितवन, काँकरभिट्टा, बुटवल लगायतका सहरमा निर्यात हँुदै आएको छ । किासनको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको पाङराङका सुन्तला व्यवसायी तारालाल कुँवरले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादन पाँच प्रतिशत वृद्धि भएको थियो । जिल्लाको पाङराङ, बाच्छा, कुर्घा, देउपुर, हुवास लगायतका स्थानमा कात्तिकको पहिलो सातादेखि नै सुन्तला बिक्री भए पनि उत्तरी पर्वतको बाँसखर्कमा भने फागुनको अन्तिम साता मात्रै बिक्री गरेर सकिएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया