अमेरिकी संसदमा ह्याकिम जेफ्रीसको ऐतिहासिक भाषण: रिपब्लिकनलाई कडा चुनौती, स्वास्थ्य सेवाको मुद्दामा चर्को आवाज

इनेप्लिज २०८२ असार १९ गते १२:२४ मा प्रकाशित

अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा अन्तिम मतदान सुरु हुनु अघि डेमोक्र्याटिक दलका नेता ह्याकिम जेफ्रीसले ३ घण्टा भाषण गरेका छन् ।

अहिले सभामुख माइक जोन्सन बोल्दैछन भने केही बेरमा अन्तिम मतदान हुनेछ । रिपब्लिकन दलका नेताहरूले रातभरि केही सांसदहरूलाई मनाएर सिनेटबाट पारित कर कटौती र खर्चसम्बन्धी महत्त्वपूर्ण विधेयक पारित गर्न लगभग सफल भइसकेका छन् तर डेमोक्र्याटिकका नेता ह्याकिम जेफ्रीले विधेयकलाई रोक्ने प्रयास गरे ।

ट्रम्पको कार्यसूचीलाई अगाडि बढाउने विधेयकमाथि संसदमा बहस सकिन लाग्दा, अल्पमतका नेता ह्याकिम जेफ्रीसले ‘म्याजिक मिनेट’ नामक विशेष अधिकार प्रयोग गरे। यो अधिकारले नेताहरूलाई जतिसुकै बेरसम्म पनि बोल्न छुट दिन्छ। उनले बिहान करिब ५ बजे (पूर्वी समय) आफ्नो भाषण सुरु गरेका थिए ।

जेफ्रीसले भने, “म समय लिएर बोल्नेछु।” त्यसपछि उनले रिपब्लिकनहरूले ट्रम्पको अगाडि झुकेको भन्दै आलोचना गरे। साथै, उनले स्वास्थ्य सेवाको सुरक्षा गुमाउने चिन्तामा रहेका सर्वसाधारण मानिसहरूको व्यक्तिगत कथाहरू पढेर सुनाए र अमेरिकी इतिहासका महत्त्वपूर्ण घटनाहरूको चर्चा गरे।

अन्ततः जेफ्रीसले आफ्नो भाषण टुङ्ग्याए । अब रिपब्लिकनहरूले विधेयकलाई अन्तिम मतदानका लागि अगाडि बढाउनेछन्।

प्रतिक्रिया