दुई हप्ताअघि मात्र परालैङ्गिक (ट्रान्सजेन्डर )युवाहरूलाई लिंग-पुष्टि गर्ने उपचार माथि प्रतिबन्धलाई सदर गरेको अमेरिकी सर्वोच्च अदालतले बिहीबार एउटा महत्त्वपूर्ण घोषणा गरेको छ।
अदालतले आइडाहो र पश्चिम भर्जिनिया राज्यमा परालैङ्गिक खेलाडीहरूको पक्षमा भएका तल्लो अदालतका निर्णयहरूमाथि अब शरद ऋतुमा बहस सुन्ने छ।
अमेरिकाका दुई दर्जनभन्दा बढी राज्यहरूले परालैङ्गिक (ट्रान्सजेन्डर )महिला र किशोरीहरूलाई केही खेलकुद प्रतियोगिताहरूमा भाग लिनबाट रोक्ने कानुन बनाएका छन्। रिपब्लिकन दलले यसलाई खेलकुदमा ‘निष्पक्षता’ को लडाइँको रूपमा लिँदै आएको छ र केही कानुनहरूलाई अदालतले रोकिदिएको छ।
यसैबीच, ट्रम्प प्रशासनले परालैङ्गिक (ट्रान्सजेन्डर )खेलाडीहरूलाई स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न दिने नीतिहरू विरुद्ध मुद्दा दायर गरेको छ । र ,अनुसन्धानहरू पनि सुरु गरेको छ।
यो हप्ता पेन्सिल्भेनिया बिश्वबिद्यालयले परालैङ्गिक (ट्रान्सजेन्डर )पौडी खेलाडी लिया थोमसले बनाएका तीनवटा विद्यालय अभिलेख (रेकर्ड)हरूमा परिवर्तन गरेको छ। साथै, उनीहरूले लिया थोमसको महिला पौडी टोलीमा सहभागिताका कारण ‘बेफाइदा’ मा परेका महिला खेलाडीहरूसँग माफी माग्ने बताएका छन्।
यो निर्णय एउटा महत्त्वपूर्ण संघीय नागरिक अधिकारसम्बन्धी मुद्दाको समाधानको हिस्सा हो। एपीका अनुसार सर्वोच्च अदालतले अब यो संवेदनशील र महत्त्वपूर्ण विषयमा अन्तिम निर्णय दिने जनाएको छ ।
प्रतिक्रिया