अमेरिकी तल्लो सदनका डेमोक्र्याटिक नेता हाकिम जेफ्रिजले अमेरिकी संसदमा रिपब्लिकन दलको खर्चसम्बन्धी विधेयकको कडा आलोचना गर्दै ६ घण्टा लामो भाषण पूरा गरेका छन्।
उनले यो लामो भाषण “म्याजिक मिनेट”भन्ने नियम प्रयोग गरेर दिइरहेका छन्, जसले नेताहरूलाई निर्धारित समय भन्दा धेरै बोल्न अनुमति दिन्छ।
उनको उद्देश्य सन् २०२१ मा पूर्व रिपब्लिकन नेता केभिन मक्कार्थीले राखेको ८ घण्टा ३२ मिनेटको भाषण अभिलेख (रेकर्ड )तोड्ने जस्तो देखिन्छ। मक्कार्थीले त्यसबेला “बिल्ड ब्याक बेटर” नामको विधेयकको विरोधमा यति लामो बोलेका थिए।
संसदको डेमोक्र्याटिक पक्षमा ३ दर्जनभन्दा बढी सांसदहरू जेफ्रिजको पछाडि बसेर उनको समर्थन गरिरहेका छन्। तर रिपब्लिकन तर्फको बैठक कक्ष भने झण्डै खाली छ । धेरैजसो सांसदहरू त्यहाँबाट उठेर बाहिरिसकेका छन्।
जेफ्रिजको यो प्रयासले बजेट प्रस्तावमाथि डेमोक्र्याटिक असन्तुष्टि झल्काउँछ भने संसदमा दीर्घ भाषणमार्फत विरोध जनाउने परम्परालाई पनि नयाँ उचाइमा पुर्याएको छ।
प्रतिक्रिया