इरानको भूमिगत फोर्डो युरेनियम प्रशोधन केन्द्रमा भएको अमेरिकी र इजरायली हवाई आक्रमणपछि त्यहाँको अवस्थाबारे नयाँ उपग्रह तस्वीर सार्वजनिक भएको छ। फक्सन्यूजले समाचार प्रकाशित गर्दै म्याक्सार टेक्नोलोजी(प्रविधि)ले खिचेका तस्वीरहरुमा सुरुङ र मुख्य पहुँच मार्गमा व्यापक क्षति, गहिरा खाल्डाहरू र धुवाँको असर देखिन्छ।
अमेरिकाले जुन २२ मा गहिरो सुरुङमा आक्रमण गर्न प्रयोग हुने विशेष बम (बंकर-बस्टर )प्रयोग गरी पहिलो आक्रमण गर्यो । इजरायलले त्यसको भोलिपल्ट सुरुङतर्फ जाने सडकलाई लक्षित गरी दोस्रो हमला गर्यो। तस्वीरमा सुरुङको छेउमा खटिएका निर्माण कार्यमा प्रयोग हुने यान्त्रिक यन्त्र (क्रेन) सवारी साधन र सुरक्षाकर्मी देखिन्छन्, जसले मरम्मत र अवलोकन कार्य भइरहेको जनाउँछ।
विश्लेषकहरूका अनुसार आक्रमणको मुख्य उद्देश्य इरानको आणविक पूर्वाधारमा पहुँच अवरुद्ध गर्नु र मर्मत कार्य कठिन बनाउनु हो। साथै, आणविक केन्द्र नजिकैको एउटा सानो भवन पूर्णरूपमा ध्वस्त देखिन्छ।
अमेरिका र इजरायलले आक्रमणलाई इरानको आणविक हतियार विकास प्रयासलाई रोक्न गरिएको दाबी गरे पनि इरानले आफ्नो कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी गरेको छ।
पेन्टागनका ड्यान केनका अनुसार तीनै लक्ष्य स्थानहरूमा “गम्भीर क्षति” पुगेको छ, यद्यपि पूरै मूल्याङ्कन गर्न अझै समय लाग्नेछ। यसैबीच, इजरायली सेनाले तेहरानको एभिन कारागार र केही सैन्य केन्द्रहरूमा पनि प्रहार गरेको पुष्टि गरेको छ।
तस्बिर कृतज्ञता :म्याक्सर
प्रतिक्रिया