इरानद्वारा इजरायली परमाणु केन्द्रलाई निशाना बनाउने चेतावनी, अमेरिका-इरान वार्ता जारी

इनेप्लिज २०८२ असार ७ गते २०:१७ मा प्रकाशित

इरानले इजरायलसँगको युद्ध जारी रहेमा शिमोन पेरेज नेगेभ आणविक अनुसन्धान केन्द्रलाई निशाना बनाउन सक्ने गम्भीर चेतावनी दिएको छ। अल जजीरालाई दिएको एक बयानमा एक वरिष्ठ इरानी अधिकारीले नेगेभ मरुभूमिमा रहेको उक्त इजरायली आणविक प्रतिष्ठानलाई लक्षित गर्न सकिने बताएका छन्। यद्यपि, एनबीसी न्यूजले यस समाचार तथा विवरणको स्वतन्त्र रूपमा पुष्टि गरेको छैन भनि समाचारमा उल्लेख गरेको छ ।

यसैबीच, संयुक्त राज्य अमेरिका र इरानबीच यस सप्ताहन्तमा संवाद जारी रहेको एक अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकी प्रशासनले इरानसँगको आफ्नो संवादको बारेमा थप विवरण वा आगामी दिनमा इरानप्रतिको अमेरिकी दृष्टिकोणबारे कुनै जानकारी दिएको छैन।

इजरायली विदेशमन्त्री गिडियन साअरले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले साइप्रसमा इजरायलीहरू विरुद्ध आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएका छन्। साइप्रसका सुरक्षा अधिकारीहरू र इजरायली सुरक्षा सेवाहरूको सहयोगमा उक्त आतंकवादी हमला असफल पारिएको साअरले बताए।

यसअघि इरानका विदेशमन्त्री अब्बास अराक्चीले एनबीसी न्यूजलाई यदि अमेरिका आणविक वार्ता पुनः सुरु गर्न गम्भीर छ भने इजरायललाई आफ्ना हमला रोक्न निर्देशन दिनुपर्ने बताएका थिए। शुक्रबार यस सम्बन्धमा सोध्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “अहिले त्यो अनुरोध गर्न धेरै गाह्रो छ” भनेका थिए।

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई इरानले आफ्नो आणविक गतिविधिहरूको कुनै पनि निलम्बन अस्वीकार गर्ने बताएको इरानी अर्ध-आधिकारिक समाचार निकाय फार्स न्यूजले उल्लेख गरेको छ।

इरानी सञ्चारमाध्यम आईएसएनएका अनुसार इजरायललाई समर्थन गरेको आशंकामा कोममा २२ जनालाई पक्राउ गरिएको छ। कोम प्रान्तको सार्वजनिक सुरक्षा र गुप्तचर प्रहरीलाई उद्धृत गर्दै प्रतिवेदनमा यस समूहलाई इजरायलको गुप्तचर सेवाहरूसँगको सम्बन्ध, जनमतलाई बाधा पुर्‍याएको र “आपराधिक शासन” लाई समर्थन गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया