अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक केन्द्रहरूमा सैन्य हमलाको आदेश दिएपछि तेहरानलाई पुनः वार्ताको टेबुलमा फर्काउने आशा व्यक्त गरेका छन्। स्रोतका अनुसार राष्ट्रपति ट्रम्पले हाल इरानभित्र थप अमेरिकी कारबाहीको योजना नभएको र इरानी नेताहरूलाई “यो युद्ध अन्त्य गर्न सहमत हुन” दबाब दिइरहेका छन्।
सिएनएनका अनुसार पछिल्ला केही दिनदेखि ट्रम्पले इरानको उच्च सुरक्षित आणविक सुविधाहरूलाई नष्ट गर्न अमेरिकी सेना आवश्यक रहेको विश्वास गरेका थिए र कूटनीति गतिरोधमा रहेपछि यो निर्णय लिएका हुन्।
अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले शनिबार राति १० बजे व्हाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गर्दै यसलाई इरानी आणविक सुविधाहरूलाई लक्षित गरी “अत्यन्त सफल सैन्य कारबाही” भएको बताएका छन्।
ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसल प्रकाशनमा लेखेका छन्, “हामीले इरानका तीन आणविक स्थलहरू फोर्डो, नटान्ज र इस्फाहानमा हाम्रो अत्यन्तै सफल हमला पूरा गरेका छौं। यो संयुक्त राज्य अमेरिका, इजरायल र विश्वका लागि एक ऐतिहासिक क्षण हो। इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्छ।
उनले “फोर्डो ध्वस्त भयो” भन्ने एक सामाजिक सञ्जाल प्रकाशनलाई पनि पुनः प्रकाशन गरेका छन्। यस कारबाहीमा अमेरिकी बी-२ बमबर्षक विमानहरू प्रयोग भएको स्रोतले जनाएको छ ।
विशेषगरी फोर्डोजस्ता उच्च-सुरक्षित भूमिगत सुविधाहरूमा लक्षित ३०,००० पाउण्डको भूमिगत सुरुङ्ग तोड्ने बमको प्रभावकारीताका लागि बी-२ बम बर्षक एकमात्र उपलब्ध विकल्प मानिन्छ।
इजरायलका पूर्व रक्षामन्त्री योआव ग्यालन्टले सामाजिक संजाल एक्समा प्रकाशन गर्दै अमेरिकी हमलालाई “सम्पूर्ण मानवताका लागि” गरिएको “साहसिक निर्णय” भनी प्रशंसा गरेका छन्। उनले भने, “राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिका, इजरायल, सम्पूर्ण मानवताका लागि एक साहसिक निर्णय लिएका छन्। विश्व अब अझ सुरक्षित भएको छ।”
इरानी सरकारी सञ्चारमाध्यम फार्स न्यूजका अनुसार, तेहरानबाट करिब ८७ माइल दक्षिणमा रहेको कोम शहरका बासिन्दाले शहर बाहिर धेरै विस्फोटको आवाज सुनेका थिए। फोर्डो आणविक कारखाना कोम नजिकै पहाडभित्र निर्माण गरिएको छ। फार्सले फोर्डोमा हवाई रक्षा प्रणाली सक्रिय भएपछि विस्फोट भएको विवरण दिईएको छ ।
अमेरिकी सेनाका अवकाशप्राप्त उप रथी मार्क किम्मिटले सिएनएनसँग कुरा गर्दै अमेरिकाले अब इरानको फोर्डो आणविक स्थलमा भएको क्षतिको स्तर निर्धारण गर्न आफ्ना सबै गुप्तचर-सङ्कलन सम्पत्तिहरू केन्द्रित गर्ने बताएका छन्।
यद्यपि, ट्रम्पले कूटनीति अगाडि बढ्ने आशा कायम राखे पनि यस क्षेत्रमा रहेका अमेरिकी सेना इरानी प्रतिशोधका लागि तयार छन्। यो हमलाले मध्यपूर्वमा पहिलेदेखि नै तनावग्रस्त वातावरणमा थप अनिश्चितता बढाएको छ
प्रतिक्रिया