अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार उनी हाललाई १८०७ को विद्रोह ऐन प्रयोग गर्ने तयारीमा नभएको बताए । तर लस एञ्जलसमा जारी प्रदर्शनहरूलाई नियन्त्रण गर्न उनले २,००० राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड) तैनाथ गरेका छन्। यो कदमप्रति क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर गेभिन न्यूजमले “जानीजानी उत्तेजक कार्य” भन्दै कडा आलोचना गरेका छन्।
ट्रम्पले न्यु जर्सीमा पत्रकारहरूसँग कुरा गर्दै भने, “यदि विद्रोह हुन्छ भने मात्रै त्यो ऐन प्रयोग हुन्छ।” उनलाई लस एञ्जलसमा विद्रोह भइरहेको हो त भन्ने सवालमा उनले जवाफ दिए , “होइन, तर त्यहाँ हिंसात्मक तत्व छन्, र ,हामी तिनलाई उम्कन दिने छैनौं।” उनले “कडा कानून र व्यवस्था” को आवश्यकता दोहोर्याए।
ट्रम्पले रक्षा सचिव पिट हेगसेथका टिप्पणीमाथि पनि बोले । क्याम्प पेंडलटन का सक्रिय नौसेनारू उच्च सतर्कतामा छन्। ट्रम्पले भने, “हामी आवश्यकता अनुसार सबै उपाय अपनाउनेछौं।
ट्रम्पले गभर्नर न्यूजमलाई “अयोग्य” भन्दै शुक्रवारको ४० मिनेट लामो दूरवाणी (टेलिफोन )संवादको चर्चा गर्दै भने, “मैले उनलाई भने, यदि तपाईले समाधान गर्नु भएन भने म सेनालाई पठाउनेछु। र मैले त्यसै गरे।”
राज्यको गभर्नरको औपचारिक अनुरोध बिना राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड )तैनाथ गरिएको सन् १९६५ पछि यो पहिलो पटक हो । सिएनएनले जनाए अनुसार त्यसबेला राष्ट्रपति लिंडन बी. जोनसनले नागरिक अधिकार आन्दोलनमा सहभागीहरूलाई सुरक्षा दिनका लागि अलाबामामा राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड )पठाएका थिए।
लस एञ्जलसकी डेमोक्र्याटकी नगर प्रमुख (मेयर) करेन बासले यो कदम आवश्यक नरहेको बताइन्। “हाम्रो लस एञ्जेल्स प्रहरी र स्थानीय कानूनी निकायहरूले स्थिति सम्हाल्न सक्छ,” उनले भनिन्। हालसम्म लगभग ३०० सैनिक शहरभरिका तीन स्थानमा तैनाथ भइसकेका छन्।
बासले अगाडी भनिन “म वा गभर्नरले आफ्नो जिम्मेवारी पुरा गर्न सकेनौं भन्ने कुरालाई म अस्वीकार गर्छु । हामी ह्वाइट हाउससँग पनि निरन्तर समन्वयमा छौं।”
प्रतिक्रिया