शिकागोमा दुःखद दुर्घटना: प्रहरी अधिकृत आफ्नै सहकर्मीको गोलीबाट मारिइन्

इनेप्लिज २०८२ जेठ २६ गते १७:३४ मा प्रकाशित

अमेरिकाको इलोनोइ राज्यको शिकागो शहरमा एक गम्भीर दुर्घटनामा शिकागोकी प्रहरी अधिकृत क्रिस्टल रिभेरा आफ्नै सहकर्मीको गोलीबाट ज्यान गुमाउनु परेको छ। अपराधीसँगको पछ्याइको क्रममा उनीहरू एउटा आवासगृह (अपार्टमेन्ट)मा पसेका थिए जहाँ बन्दुक बोकेका अर्का व्यक्तिसँग उनीहरूको मुठभेड भयो। यही क्रममा उनको ज्यान गएको छ ।

३६ वर्षीया रिभेरा चार वर्षदेखि प्रहरी विभागमा कार्यरत थिइन् र उनी एक १० वर्षीया छोरीकी आमा हुन्।

शिकागो प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमा रिभेराका सहकर्मीले चलाएको गोली गल्तीबस रिभेरालाई लागेको थियो। शव परीक्षणका अनुसार रिभेरालाई ढाडमा गोली लागेको थियो।

गोलीकाण्ड बिहीबार राति १० बजे अगाडि भएको थियो। उनलाई सहकर्मीहरूले गाडीमा अस्पताल पुर्‍याउने प्रयास गरे पनि गाडी बिग्रिएर दुर्घटना हुँदा आगलागी समेत भयो। त्यसपछि अर्को गाडीमार्फत उनलाई अस्पताल पुर्‍याइयो तर एक घण्टा भित्रै उनको मृत्यु भयो।

घटनास्थलबाट तीनवटा हतियार बरामद गरिएको छ । बन्दुक देखाउने व्यक्ति पनि पक्राउ परेका छन् । प्रहरी प्रमुख लेरी स्नेलिङले रिभेरालाई “जुझारु, मेहनती र ऊर्जावान” अधिकृत भनेर सम्मान गरे।

उनकी आमाका अनुसार रिभेराको बाल्यकालदेखि नै प्रहरी बन्ने सपना थियो। २०२१ मा एकाडेमी(शैक्षिक संस्था)बाट उत्रीण हुँदा उनले भनेकी थिइन्: “म सेवा गर्ने परिवारबाट आएकी हुँ। जसलाई जरुरत छ, तिनीहरूलाई सहायता गर्नु नै मेरो उद्देश्य हो।”

प्रतिक्रिया