काठमाडौं, जेठ २५ गते । मधेसी एकता समाज, कतारको आयोजनामा दोहास्थित गोर्खाली रेस्टुरेन्टमा बकर ईदको पावन अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
मधेशी एकता समाज कतारका अध्यक्ष शिव कुमार महतोको अध्यक्ष्यतामा आयोजित कार्यक्रममा नेपालका पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो प्रमुख आतिथि र समाजका संस्थापक अध्यक्ष डा. रविन्द्र कुमार यादव विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
त्यस अवसरमा प्रमुख अतिथि महतोले अब मात्र मधेशलाई हेरेर आन्दोलन गरेर नपुग्ने बताउनुभयो । उहाँले बहुल राष्ट्रको नीति अपनाउँदै नेपालका बहुजातीय, बहुभाषिक, बहुधार्मिक समुदायहरूको समुचित सहभागिता सुनिश्चित हुनेगरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले पृथ्वीनारायण शाहको ‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी’ भन्ने मूल विचारलाई स्मरण गर्दै भन्नुभयो, ‘त्यही फूलबारीको अवधारणालाई व्यवहारमा लागू गरेर मात्र नेपाललाई समावेशी, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउन सकिन्छ ।’
महतोले नेपालको विकास र समृद्धिबारे विदेशमा नेपालीहरु बढी चिन्तित रहेको आफूले पाएको बताउनुभयो ।
त्यसैगरी संस्थापक अध्यक्ष डा. यादवले मधेसी एकता समाजको मूल उद्देश्य आफ्नो भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु रहेको बताउनुभयो ।
उहाँले लोकतन्त्र स्थापनापछि मधेसी समुदायले पासपोर्ट सहजै रुपमा पाउने भएपछि खाडी मुलुकहरूमा रोजगारीमा आउने लहर तीब्र भएकोले मधेशमा आर्थिक परिवर्तन भएको बताउनुभयो ।
विदेशमा रहेका नेपाली संघसंस्थाहरूले राजनीतिक पार्टीको भातृ संगठन भएर नभई सामाजिक उत्तरदायित्वका साथ काम गर्नुपर्ने डा. यादवको भनाइ थियो ।
कतारको कार्यक्रममा समाजको अन्तर्राष्ट्रिय समितिबाट डा. यादवबाहेक उपाध्यक्ष राजीव झा र उपाध्यक्ष तथा मध्यपूर्व इन्चार्ज अभय ठाकुर सहभागी हुनुहुन्थ्यो ।
दीप प्रज्वलन, राष्ट्रियगान गायन तथा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणसहित सुरु गरिएको कार्यक्रमको संचालन चन्द्रविर राय यादवले गर्नुभएको थियो ।
कार्यक्रममा समाजका वरिष्ठ पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो । त्यस अवसरमा मधेशी एकता समाज कतारका कोषाध्यक्ष गौतम कुमार शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया