इजरायलले गाजामा अक्टोबर ७, २०२३ मा अपहरणमा परेका थाई नागरिक नत्ताफोङ पिन्टाको शव एक विशेष सैन्य कारबाहीमार्फत गाजाको रफाह क्षेत्रमा फेला पारिएको जनाएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले शनिबार पुष्टि गरेको हो।
पिन्टा, जो कृषि क्षेत्रमा काम गर्न इजरायल आएका थिए, दक्षिण इजरायलको किब्बुट्ज निर ओजबाट हमास समर्थित मुझाहिदीन ब्रिगेड्सद्वारा अपहरणमा परेका थिए। इजरायली रक्षा मन्त्रीका अनुसार अपहरणपछि छिट्टै उनलाई मारिएको थियो। उनको शव गाजाको दक्षिणी सहर रफाहबाट बरामद गरिएको हो।
नत्ताफोङ पिन्टाको श्रीमती र छोरा छन्। “बन्धक परिवार मञ्च” नामक संस्थाले पिन्टाको परिवारप्रति समवेदना व्यक्त गर्दै भनेको छ, “बाँकी बन्धकहरूलाई सुरक्षित घर फर्काउनु र मृतकहरूलाई सम्मानपूर्वक अन्त्येष्टि गरिनु अत्यावश्यक छ।”
थाइल्याण्डको विदेश मन्त्रालयका अनुसार, गाजा युद्ध सुरु भएदेखि हालसम्म ४६ जना थाई नागरिक मारिएका छन्। युद्धको सुरूवातमा हमास लडाकूहरूले दक्षिण इजरायलका कृषिकर्ममा संलग्न थाई कामदारहरू बसोबास गर्ने ठाउँहरूलाई निशाना बनाएका थिए।
पिन्टाको शव फेला पार्नु अगाडि ३ थाई बन्धक अझै हमासको नियन्त्रणमा थिए भने २ जनाको मृत्यु पुष्टि भइसकेको थियो।
इजरायलले गाजामा आफ्ना सैन्य कारबाही जारी राखेको छ। शनिबारका हमलाहरूमा कम्तीमा २२ जना मारिएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार वटा आक्रमण गाजाको दक्षिणी क्षेत्र मुवासीमा र एउटा आक्रमण गाजाको उत्तरमा रहेको एक आवासगृहमा भएको छ जहाँ पाँच बालबालिका र एक आमासहित ७ जनाको मृत्यु भएको थियो।
इजरायली सेनाले भनेको छ, “हामी हमासको क्रूर हमलाको जवाफ दिइरहेका छौं र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै सम्भव भएसम्म नागरिक हानि न्यूनीकरण गर्ने प्रयास गरिरहेका छौं।”
अक्टोबर ७ को हमलामा हमासले करिब १,२०० जनाको हत्या गरेको र २५१ जनालाई अपहरण गरेको थियो। हाल गाजामा ५५ बन्धक छन्, जसमा आधाभन्दा बढी मृत भएको विश्वास गरिन्छ।
इजरायली कारबाहीमा अहिलेसम्म ५४,००० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्, जसमा धेरैजसो महिला र बालबालिका छन्। लगभग ९०% गाजा जनसंख्या विस्थापित भइसकेको छ।
प्रतिक्रिया