कोलम्बियामा ६.३ परिमाणको शक्तिशाली भूकम्प; राजधानी बोगोटासहित ठूला शहरहरू हल्लिए

इनेप्लिज २०८२ जेठ २६ गते २०:४८ मा प्रकाशित

कोलम्बियाको मध्य भागमा आइतबार बिहान ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। प्रारम्भिक विवरणअनुसार कुनै जनधनको क्षति नभएको बताइएको छ।

सिबिएसन्यूजले जनाए अनुसार यो भूकम्प बिहान ८:०८ बजे, राजधानी बोगोटाबाट करिब ११६ माइल दक्षिणपूर्वमा पर्ने परातेबुएनो शहर नजिक, ६.२ माइल गहिराइमा गएको थियो। मिडेलिन, काली र म्यानिजालेसजस्ता शहरहरूमा समेत कम्पन महसुस गरिएको स्थानीयहरूले बताएका छन्।

कोलम्बियाको भूगर्भीय सेवा विभागले सो क्षेत्रमै केही मिनेटपछि ४ देखि ४.६ म्याग्निच्युडका पराकम्पनहरू पनि गएको जानकारी दिएको छ।

आपतकालीन जोखिम व्यवस्थापन राष्ट्रिय निकायले सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै धेरै नगरपालिका क्षेत्रमा स्थिति मूल्याङ्कन भइरहेको जनाएको छ।

सामाजिक सञ्जालमा प्रकाशन गरिएका तस्बिर र श्रब्यदृश्य (भिडियो)हरूमा बोगोटाका बासिन्दा त्रसित हुँदै कार्यालय तथा घरबाट बाहिर निस्किएको देखिन्छ। ग्रामीण क्षेत्रबाट प्राप्त दृश्यहरूमा भने कुनै क्षति नभएको देखिएको छ।

“यो एकदमै डर लाग्दो अनुभव थियो,” बोगोटाका ५४ वर्षीय कार्लोस अल्बर्टो रुइजले एएफपीसँग भने। उनले पत्नी, छोरा र कुकुरसहित घर छाडेका थिए।

“बोगोटामा यति बलियो भूकम्प धेरै समयपछि महसुस गरियो,” अधिवक्ता फ्रान्सिस्को गोन्जालेजले बताए। कोलम्बिया प्रशान्त क्षेत्र बारम्बार भूकम्प तथा ज्वालामुखी सक्रियता हुने गर्दछ।

प्रतिक्रिया