अमेरिकामा आँधीबेरी र घुम्रपात(टोर्नाडो)को कारण मिजौरी र भर्जिनियामा कम्तीमा ६ जनाको ज्यान गयो, लाखौं प्रभावित

इनेप्लिज २०८२ जेठ ४ गते ०:४४ मा प्रकाशित

अमेरिकामा आएको विनाशकारी आँधीबेरी र टोर्नाडोले मिजौरीको सेन्ट लुइस र भर्जिनियामा कम्तीमा ६ जनाको ज्यान लिएको छ । एबिसीन्यूजका अनुसार ४ लाखभन्दा बढी ग्राहकहरूका घरहरु विद्युत् बिच्छेदमा परेका छन्।

शुक्रवार सेन्ट लुइसमा शक्तिशाली आँधीबेरीले प्रहार गर्दा चार जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीले शहरको उत्तर र पश्चिमी भागमा “गम्भीर क्षति” भएको जनाएको छ।

यसैबीच आँधी पूर्वतर्फ सरेर इलिनोइ र केन्टकी राज्यमा फैलिएको छ जहाँ रातभरि थप गम्भीर मौसमको जोखिम रहेको छ। इन्डियानापोलिस, लुइभिल (केन्टकी), कार्बन्डेल (इलिनोइ) लगायतका शहरहरूमा बेलुकी १० बजेसम्म घुम्रपात(टोर्नाडो)को चेतावनी जारी गरिएको छ।

केही स्थानमा ८० माइल प्रति घण्टाको गतिमा हुरी चल्ने र २.५ इन्चसम्मको ठूलो असिना पर्ने चेतावनी दिइएको छ।

भर्जिनियामा, वासिङ्टन डिसी नजिकै, रुख खसेर दुई व्यक्तिको ज्यान गएको छ। एक जनाको ज्यान जर्ज वासिङ्टन मेमोरियल पार्कवे मा रुखले कारमा खसेपछि भएको हो भने अर्को घटना फेयरफ्याक्स काउन्टी मा भएको हो।

यो मौसमी प्रकोपले ९ करोड अमेरिकीहरूलाई जोखिममा पारेको छ। शुक्रबार दिउँसोसम्म मिशिगनमा २ लाख र मिसौरीमा १ लाखभन्दा बढी ग्राहकहरू विद्युत् सेवा बिना बसिरहेका छन्।

मौसमविद्‌हरूका अनुसार शुक्रबार साँझ ८ बजेतिर आँधीले सिन्सिनाटी, लुइभिल, जोन्सबोरोमा प्रहार गर्नेछ । राति ९ बजे मेम्फिस,त्यसपछि १०–११ बजेतिर न्यासभिल पुग्नेछ।

शनिबार मुख्य जोखिम क्षेत्र टेक्सस, ओकलाहोमा र अर्कान्सासमा केन्द्रित रहनेछ जहाँ साँझपख पुनः हुरी, असिना र घुम्रपात (टोर्नाडो)को सम्भावना रहेको छ।

प्रतिक्रिया