ट्रम्प प्रशासनको कदमविरुद्ध हार्वर्डलाई अदालतको राहत: विदेशी विद्यार्थी कार्यक्रम नरोकिने

इनेप्लिज २०८२ जेठ १६ गते १६:४२ मा प्रकाशित

बोस्टनस्थित एक संघीय न्यायाधीशले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी कार्यक्रमको मान्यता रद्द गर्ने ट्रम्प प्रशासनको निर्णयलाई रोक्न आफू तयारीमा रहेको बताएकी छन्।

पूर्व राष्ट्रपति बाराक ओबामाद्वारा नियुक्त न्यायाधीश एलिसन डी. बरोसले बिहीबार सुनुवाइका क्रममा हार्वर्डलाई अस्थायी राहत जारी राख्ने बताउँदै प्रारम्भिक निषेधाज्ञा जारी गर्ने तयारीमा रहेको जनाइन्।

यो कार्यक्रममार्फत हार्वर्डले  एफ-१ र जे-१ प्रवेशाज्ञा(भिसा) मा विदेशी विद्यार्थीहरूलाई अध्ययनका लागि आमन्त्रित गर्न पाउँछ।

सुनुवाइमा बरोसले ट्रम्प प्रशासनको कदम हाललाई अवरुद्ध हुने स्पष्ट संकेत दिइन्।

हार्वर्डले दायर गरेको मुद्दामा भनिएको छ कि यदि प्रमाणपत्र खारेज गरियो भने, ७,००० भन्दा बढी विद्यार्थी—जसले कूल विद्यार्थीको २५% प्रतिनिधित्व गर्छन्—प्रभावित हुनेछन्।

तर गृह सुरक्षा बिभागले बुधबार अदालतमा कागजात पेश गर्दै हार्वर्डको प्रमाणपत्र फिर्ता गर्ने निर्णयमा अडिग रहेको जनाएको थियो। बिभागका अनुसार विश्वविद्यालयले  विवरण नियमहरू पालना नगरेको, परिसरमा हिंसा र यहूदीविरोधी गतिविधि नियन्त्रण गर्न नसकेको, र विदेशीसँगको व्यवहारले राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गराएको छ।

अब अन्तिम निर्णय अदालतबाट आउनेछ, तर हाललाई हार्वर्डका हजारौं विदेशी विद्यार्थीहरूलाई राहत मिलेको छ।

प्रतिक्रिया