गाजामा युद्धविरामको आशा: नयाँ अमेरिकी प्रस्ताव छिट्टै इजरायल र हमास दुवै पक्षलाई पेश गरिने

इनेप्लिज २०८२ जेठ १६ गते ११:०७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व शान्तिदूत स्टिभ विटकोफले गाजा युद्ध अन्त्य गर्न सकारात्मक संकेत देखिएको बताएका छन्। वाशिङ्टनमा बुधबार उनले भने, “म अस्थायी युद्धविराम र दीर्घकालीन समाधानबारे निकै राम्रो अनुभूति गरिरहेको छु।” उनले नयाँ अमेरिकी प्रस्ताव छिट्टै इजरायल र हमास दुवै पक्षलाई पेश गरिने बताए।

हमासले पनि विटकोफसँग स्थायी युद्धविराम, गाजाबाट इजरायली फौजको पूर्ण फिर्ती, मानवीय सहायता आपूर्ति, र शक्ति स्वतन्त्र प्यालेस्टाइनी समितिको हातमा सुम्पने ‘सामान्य ढाँचा’मा सहमति भएको एपीले उल्लेख गरेको छ ।

तर इजरायली नेताहरूले यस्तो सम्झौतामा असहमति जनाएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सबै बन्धक नछुटुन्जेल, हमास नष्ट नभएसम्म वा निर्वासित नभएसम्म युद्ध नरोकिने स्पष्ट पारेका छन्। उनले गाजामा इजरायलको दीर्घकालीन नियन्त्रण रहने बताएका छन्।

हमासले भने बाँकी ५८ बन्धकको रिहाइ स्थायी युद्धविराम, इजरायली फौजको पूर्ण फिर्ती र प्यालेस्टाइनी कैदीहरूको आदान प्रदानमा मात्र सम्भव हुने बताएको छ। बन्धकमध्ये करिब एक तिहाइ जीवित छन् भन्ने अनुमान गरिएको छ, तर युद्ध लम्बिँदै जाँदा उनीहरूको सुरक्षामा गम्भीर चिन्ता बढेको छ।

अमेरिका, इजिप्ट र कतारको पहलमा एक वर्षभन्दा बढी समयदेखि चलिरहेको वार्ता अस्थायी विराम या स्थायी समाधानमा अल्झिरहेकै छ। समाधान अझै टुङ्गिएको छैन।

प्रतिक्रिया