ट्रम्प प्रशासनद्वारा आयात शुल्क रोक्ने आदेशविरुद्ध तत्काल अपिल दायर

इनेप्लिज २०८२ जेठ १६ गते १०:३४ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी संघीय अदालतको शुल्क रोक्ने निर्णयविरुद्ध तुरुन्तै अपिल दायर गरेको छ। यसले उपभोक्ता, व्यवसायी तथा सम्पूर्ण विश्वव्यापी अर्थतन्त्रमा अनिश्चितता र द्वन्द्व थप्ने देखिएको छ।

स्मरण रहोस्, एक संघीय अदालतले राष्ट्रपति ट्रम्पले आफूलाई दिएको अधिकारभन्दा बढी प्रयोग गरी आयातमा व्यापक शुल्क लगाएको ठहर गर्दै तीमध्ये अधिकांश शुल्कलाई अमान्य ठहर गरेको छ । उक्त निर्णयले अमेरिकी व्यवसायदेखि साधारण उपभोक्तासम्मका लागि आयातको लागत बढाउने निर्णयमाथि रोक लगाएको थियो।

ट्रम्प प्रशासनको अपिलसँगै अब यो मुद्दा उच्च अदालततिर धकेलिएको छ, जसले अमेरिकी व्यापार नीतिको दिशा मात्र होइन, विश्वव्यापी आपूर्ति श्रृंखला र अन्तर्राष्ट्रिय व्यापार सम्झौतामा पनि प्रभाव पार्न सक्छ।

विश्लेषकहरूका अनुसार, यदि ट्रम्पका शुल्कहरू कायम रहे भने यसले घरेलु उत्पादनलाई प्रोत्साहन दिन सक्छ तर उपभोक्ताको लागि मूल्य बढ्ने खतरा रहन्छ। अर्कोतर्फ शुल्क खारेज भएमा अन्तर्राष्ट्रिय व्यापार सहज हुने तर ट्रम्प प्रशासनको अमेरिका प्रथम नीति कमजोर हुने सम्भावना छ।

यो कानुनी लडाइँ अब व्यापार मात्र होइन, राष्ट्रपतिको शक्तिको सीमासँग पनि गाँसिएको मुद्दा बन्दै गएको छ।

प्रतिक्रिया