अमेरिकी सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ऐतिहासिक विदेशी शत्रु ऐन १७९८( Alien Enemies Act of 1798)अन्तर्गत उत्तरी टेक्सासमा रहेका आप्रवासीहरूको तत्काल देश निकाला अघि बढाउन रोक लगाएको छ।
यो निर्णय विशेषगरी भेनेजुएलाली आप्रवासीहरूको पक्षमा आएको हो, जो आफूहरूलाई युद्धकालीन अधिकार प्रयोग गरेर तुरुन्तै निष्कासन गरिने भयमा थिए।
यो फैसला ट्रम्पका लागि ठूलो असफलता हो। उनले यो पुरानो कानून प्रयोग गरेर देशबाट मानिसहरूलाई सामान्य कानुनी समीक्षा नगरी छिटो निकाल्ने प्रयास गरेका थिए।
तर सर्वोच्च अदालतको यो निर्णय हाललाई अस्थायी हो, र राष्ट्रपति ट्रम्पको कानुनी अधिकारप्रति उठाइएका प्रश्नहरू अझै विभिन्न संघीय अदालतहरूमा विचाराधीन छन्।
अदालतले मुद्दालाई सॅघिय अपिल अदालतमा फिर्ता पठाउँदै यस विषयमा दुई ठूला सवालहरूमा पुनः विचार गर्न भनेको छ— पहिलो, के राष्ट्रपतिको यस्तो कदम कानुनी रूपमा वैध हो? दोस्रो, यदि वैध ठहरिएमा लक्षित आप्रवासीहरूले कति समयअगावै जानकारी पाउनु पर्छ?
यो फैसलाले राष्ट्रपति ट्रम्पको आप्रवासन नीतिमा केही समयका लागि रोक लगाए तापनि अन्तिम निर्णय अझै बाँकी छ।
प्रतिक्रिया