यमेनका हुथी बिद्रोहीहरुले एक प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रमा प्रहार गरेको छ ।
आक्रमणको कारण सडक र गाडीलाई क्षति पुर्याएको र हवाई यातायात रोकिएको अल जजीराले जनाएको छ ।
इजरायली सेनाका अनुसार उनीहरूको रक्षा प्रणालीले क्षेप्यास्त्रलाई रोक्न असफल भएको जनाएको छ । यस हमलामा आठ जना घाइते भएका छन्।
यमेनका हूथी विद्रोहीहरूले इजरायलको गाजा भूभागमाथिको युद्ध र नाकाबन्दीको विरोध गर्दै इजरायलको व्यस्त विमानस्थलमा क्षेप्यास्त्र प्रहारको जिम्मेवारी लिएका छन्। गाजा माथि इजरायली हमलाको क्रममा १८ महिना बितिसकेको छ, जसमा ५२,४९५ जनाको मृत्यु भएको छ ।
हूथी सेना प्रवक्ता याह्या सरीले दूरदर्शन (टेलिभिजन) वक्तव्यमा बेन गुरियन विमानस्थल अब हवाई यात्रा गर्नको लागि सुरक्षित छैन भनि चेतावनी दिएका छन् ।
विमानस्थलमा केही समयको लागि उडानहरू स्थगित गरिएको थियो । केही उडानहरूलाई पुनर्निर्देशित गरिएको थियो। साथै, विमानस्थलका सबै प्रवेशद्वार अस्थायी रूपमा बन्द गरिएका थिए र त्यहाँ जाने रेल सेवाहरू रोकिएका थिए।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले कडा प्रतिकार गर्ने धम्की दिएका छन्, “जो कोही हामीमाथि आक्रमण गर्छ, हामी सात गुणा प्रतिकार गर्नेछौं,” उनले भने।
गाजा युद्धले इजरायलका नागरिकहरूलाई शरणमा लुक्न बाध्य गरेको छ । युद्धको परिणाम स्वरूप इजरायली परिवारहरूलाई अपार आर्थिक र मानसिक तनाव परेको छ।
यद्यपि हूथी आक्रमणहरू अमेरिकाद्वारा यमेनमा दैनिक बमबारी जारी रहने बाबजुद जारी छन्।
प्रतिक्रिया