राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाका करिब ३,५०,००० आप्रवासीहरूलाई निष्कासनबाट जोगाउने अस्थायी संरक्षित स्थिति (टिपिएस )कार्यक्रम अन्त्य गर्न सर्वोच्च अदालतको हस्तक्षेप माग गरेको छ।
गृह सुरक्षा सचिव क्रिस्टि नोएमले फेब्रुअरीमा अस्थायी संरक्षित स्थितिअन्त्य गर्ने निर्णय गरेकी थिइन्, जसका आधारमा अप्रिल ७ देखि भेनेजुएलाली आप्रवासीहरूले आफ्नो काम गर्ने अनुमति पत्र र निष्कासन सुरक्षा गुमाउने भएका थिए।
तर क्यालिफोर्नियाको एक संघीय न्यायाधीशले मार्चमा उक्त निर्णयलाई स्थगित गर्दै अस्थायी संरक्षित स्थिति अन्त्य गर्ने निर्णय “नकारात्मक रूढीवादी सोचमा आधारित देखिन्छ” भनेका थिए। ट्रम्प प्रशासनले संघीय अपिल अदालतबाट आपतकालीन राहत माग गरे पनि अस्वीकार भएपछि अब सर्वोच्च अदालतमा अपील गरिएको हो।
टिपिएस कार्यक्रम सन् १९९० मा स्थापित गरिएको थियो । युद्ध, प्राकृतिक विपत्ति वा असाधारण परिस्थितिबाट प्रभावित देशका नागरिकलाई अमेरिकामा अस्थायी रुपमा बस्न सुरक्षा दिन्छ ।
बाइडेन प्रशासनको समयमा पूर्व गृह सुरक्षा मन्त्री एलेजान्द्रो मायोरकसले भेनेजुएलालाई अस्थायी संरक्षित स्थिति अन्तर्गत समेटेका थिए । २०२३ मा पुनः नवीकरण गरेका थिए। तर,ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि मन्त्री नोएमले अस्थायी संरक्षित स्थिति (टिपिएस) विस्तारलाई राष्ट्रको हितविपरीत भन्दै खारेज गरिन्।
अस्थायी संरक्षित स्थिति (टिपिएस) लाभार्थीहरू अर्थात् टिपिएसधारी र राष्ट्रिय टिपिएस गठबन्धनले नोएमको निर्णयविरुद्ध फेब्रुअरीमा मुद्दा हालेका थिए । र न्यायाधीश एडवर्ड चेनले सो निर्णयमा रोक लगाएका थिए । यो मुद्दा ट्रम्प प्रशासनको दोस्रो कार्यकालका करिब एक दर्जन नीतिहरू मध्ये एक हो जुन सर्वोच्च अदालतमा पुगेको छ।
राष्ट्रिय टिपिएस गठबन्धनको को जवाफ मे ८ मा आउनेछ।
प्रतिक्रिया