“ह्वाइट हाउसको चेतावनी: हार्भर्डको प्रयास पर्याप्त छैन, संघीय अनुदान कटौती र विश्वविद्यालयको स्वतन्त्रता संकटमा

इनेप्लिज २०८२ वैशाख १८ गते ०:५३ मा प्रकाशित

ह्वाइट हाउसले बिश्वकै प्रख्यात हार्भर्ड विश्वविद्यालयले हालै उठाएका कदमहरूलाई “सकारात्मक” भनेको छ । तर परिषर(क्याम्पस)भित्र यहूदी विरोधी गतिविधिहरू नियन्त्रण गर्न अझ धेरै प्रयास आवश्यक रहेको संकेत दिएको छ। यदि विश्वविद्यालयले थप कडा कदमहरू नचालेमा संघीय अनुदानको प्रवाह रोक्न सकिने चेतावनी दिइएको छ।

“हामीले देखिरहेका प्रयासहरू पर्याप्त छैनन्, र वास्तवमा थप अनुदान कटौती हुनसक्छ। हामी अनुदान पुनः सुरु गर्ने विषयमा छलफल गरिरहेका छैनौं,” एक ह्वाइट हाउस अधिकारीले सिएनएनलाई बताए।

हार्भर्डले हालै आफ्नो समानता, विविधता, समावेशिता, र अपनत्व कार्यालयको नाम परिवर्तन गरी समुदाय तथा क्याम्पस जीवन राखेको छ। साथै, विश्वविद्यालयले स्नातक समारोहमा विभिन्न समूहहरूको छुट्टै उत्सव आयोजना नगर्ने निर्णय गरेको छ। यसका साथै, विश्वविद्यालयले यहूदी विरोधी र मुसलमान विरोधी पूर्वाग्रहसम्बन्धी दुई आन्तरिक प्रतिवेदनहरू सार्वजनिक गरेको छ।

तर ह्वाइट हाउसले यी परिवर्तनहरूलाई पर्याप्त मानेको छैन। अधिकारीले भने समानता, विविधता, समावेशिता, र अपनत्व कार्यक्रमलाई नयाँ नाम दिएर पुरानै कार्यशैली जारी राख्ने हो भने, त्यो स्वीकार्य हुने छैन।”

ट्रम्प प्रशासनले हार्भर्डलाई समानता, विविधता, समावेशिता, र अपनत्व कार्यक्रमहरू अन्त्य गर्न, प्यालेस्टाइन समर्थक समूहहरूलाई नियन्त्रण गर्न, र विदेशी सम्बन्धहरूमा पारदर्शिता बढाउन माग गरेको छ। विश्वविद्यालयले यी मागहरू अस्वीकार गर्दै शैक्षिक स्वतन्त्रताको रक्षा गर्ने अडान लिएको छ।

यस विवादले हार्भर्ड र संघीय सरकारबीचको सम्बन्धमा तनाव बढाएको छ । विश्वविद्यालयले संघीय अनुदान कटौतीको विरुद्धमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया