वासिङ्गटन डीसी । अमेरिकाको मेरिल्याण्डमा प्रत्येक वर्ष आयोजना हुदै आएको नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२५ प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ । गत वर्ष बर्लिन फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धा रहेको मिन बहादुर भामद्वारा निर्देशित “शाम्बाला”, गत वर्षकै भेनिस फिल्म फेस्टिवलमा प्रिमियर भएको दीपक रौनियार द्वारा निर्देशित “पूजा सर (राजागंज)” र अमेरिकाको नेपाली डायस्पोरामा बनेको बिनोद पौडेलद्वारा निर्देशित “भुठान:द वर्ल्ड हापिस्ट म्यान ” लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन् ।
यहि जुन महिनाको २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी लगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ चलचित्रहरू प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ । चार दिनसम्म चल्ने महोत्सवका चलिचत्रहरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ । महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरुको छनोट समितिले चलचित्रहरू छनौट गरेको हो ।
चलचित्र “शाम्बाला” को प्रदर्शनबाट एएफआई सिल्भर थियटर जुन २६ तारिक बिहिबार महोत्सवको उद्घाटन हुनेछ । महोत्सवको समापन “पूजा सर (राजागंज)” को प्रदर्शनसंगै जुन २९ तारिक आइतबार सोहि स्थानमा हुने छ । चलचित्र “भुठान:द वर्ल्ड हापिस्ट म्यान” को पनि रेड कार्पेट सहित निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्यहरुको बिशेष प्रदर्शन हुनेछ ।
ग्लोबल पिस फिल्म फेस्टिवल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको “लिथियम राइजिङ्: द रेस फोर क्रिटिकल मिनिरल” र निर्देशक ओल्ह बर्लान्दिनोको “द वार ट्रायल” गरि दुई चलचित्र प्रदर्शन हुनेछन् । सुबिना श्रेष्ठ निर्देशित अन्तराष्ट्रिय महोत्सवहरुमा प्रसंशा भएको वृत्तचित्र “देवी” र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र “वि आर इनसाइड” पनि होत्सवमा प्रदर्शन हुनेछन् । प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको चलचित्र “अ क्रिष्टमस बोनस” लगायतका चलचित्रहरु डीएमभी-क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन् ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनौटका लागि निर्णायक मण्डलको नाम भने केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिमा चलचित्र र संस्कृति,’प्यानल’ छलफलका साथै र चलचित्र निर्माणबारे ‘मास्टर क्लास’ पनि हुनेछ । म्यारिल्याण्ड राज्यको पार्क्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।
“हामीले यो वर्ष पनि यस्ता उत्कृष्ट चलचित्रहरु महोत्सवमा ल्याउन पाउँदा हामी अत्यन्त खुसि छौं। यी चलचित्रहरुले विभिन्न देशका मानव संस्कृती, संघर्ष, सहअस्तित्व तथा खुसीको कथाहरुको प्रतिनिधित्व गर्दछन । यो महोत्सव तपाई हामी सबैको हो,” महोत्सवका निर्देशक युवाकर राजकर्णिकार भन्छन ।
प्रतिक्रिया