शान्ति वार्ता वा धोका? राष्ट्रपति ट्रम्पको दबाबबीच अमेरिका-रुस वार्ता, युक्रेन असहमति

इनेप्लिज २०८२ वैशाख १६ गते १०:५३ मा प्रकाशित

अमेरिका र रुसबीच युक्रेन युद्ध अन्त्यको विषयमा वार्ता तीव्र भइरहेको बेला दुबै देशले एकअर्कामाथि मानव रहित यान (ड्रोन )आक्रमण गरिरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ताभित्र युद्ध अन्त्यको सम्झौता गर्न चाहेको बताएका छन्।

सोमबार क्रेमलिनले मे ८ देखि १० सम्म विजय दिवसको अवसरमा तीन दिने एकतर्फी युद्धविरामको घोषणा गर्‍यो। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले यसलाई “धोका र प्रचार” भन्दै खारेज गरे। उनले भने, “मानव जीवनको मूल्य परेड भन्दा माथि हुन्छ। शान्ति तीन दिनको होइन, कम्तीमा ३० दिनको, पूर्ण र सर्तबिनाको हुनुपर्छ।”

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लावरोभले ब्राजिली संचार माध्यममा युक्रेनले नेटोमा नजाने प्रत्याभूति (ग्यारेन्टी), र क्रेमलिनले दाबी गरेका क्षेत्रहरू (जस्तै खेरसोन, जापोरिझिया) माथि अन्तर्राष्ट्रिय मान्यता माग गरेका छन्। साथै, रुसले युक्रेनको “असैनिकीकरण”, “नाजी विचारधाराको पूर्ण उन्मूलन” “, प्रतिबन्ध हटाउने र जफत गरिएका रुसी सम्पत्ति फिर्ता गर्ने माग पनि अघि सारेको छ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियो र लावरोभबीच वार्ता भएको छ। रुबियोले युद्ध रोक्न गम्भीर प्रयास भइरहेको बताए पनि दुबै पक्षप्रति असन्तुष्टि रहेको स्वीकारे। उपराष्ट्रपति जे.डी. भान्सले शान्तिको आशा जीवित रहेको जनाए।

युद्धविरामको घोषणा भए पनि सोमबार राति रुसले १०० भन्दा ज्यादा मानव रहित उपकरण (ड्रोन) युक्रेनमा पठाएको थियो, जसमा ३७ वटा मानव रहित यान खसालिएको बताइएको छ। उता रुसले युक्रेनका ४० वटा मानव रहित यान (ड्रोन )झरेको दाबी गरेको छ।

प्रतिक्रिया