“अमेरिकाभरि भीषण मौसमको प्रकोप: पेन्सिल्भेनियामा ४ को मृत्यु, लाखौं प्रभावित”

इनेप्लिज २०८२ वैशाख १८ गते ११:१३ मा प्रकाशित

अमेरिकाको पूर्वी र मध्य भागमा परेको विनाशकारी आँधीबेरी तथा घुम्रपाका कारण पेन्सिल्भेनियामा चार जनाको ज्यान गएको छ । एबिसीन्यूजका अनुसार टेक्ससदेखि न्यूयोर्कसम्मका करोडौं मानिस अझै खतरामा रहेका छन्।

मंगलबार दिउँसो इन्डियानाको पूर्वी भागदेखि पेन्सिल्भेनियाको मध्यभागसम्म फैलिएको ५०० माइल लामो आँधीबेरीले ८० माइल प्रति घण्टासम्मको हुरी चलायो।

यसले हजारौं रूख ढालेको र विद्युत् लाइन बिच्छेद भएको छ। पेन्सिल्भेनियाको फ्र्याङ्कलिन उपनगरमा रूखले कारमा खस्दा एक यात्रुको मृत्यु भएको छ ।त्यस्तै मध्य राज्यको एक शहरमा २२ वर्षीय युवकलाई बिद्युत प्रवाह (करेन्ट) लागेर मृत्यु भएको छ । समाचारमा जनाई अनुसार उनि आँधीले ढालेको तारका कारण लागेको आगो निभाइरहेका थिए।

पिट्सबर्ग क्षेत्रमा थप दुई जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। राज्यभर ३ लाखभन्दा बढी घरधुरी अझै विद्युत् बिहीन छन्।

अर्कातर्फ, टेक्सस, ओक्लाहोमा र मिजोरीमा १०० माइल प्रतिघण्टा सम्मको हुरी चलेको र ४ वटा घुम्रपात (टोरनाडो) पुष्टि भएका छन्। ती घुम्रपात हरूले घरको छाना उडाएका र ठूला रूखहरू उखेलिएका छन्।

बुधबार र बिहीबारसम्म ५० लाखभन्दा बढी मानिस अझै हुरीको खतरामा रहेका छन्। टेक्ससदेखि ओहायो उपत्यकासम्म डरलाग्दो हुरी, ठूलो असिना र आकस्मिक बाढीको सम्भावना रहेको छ। ड्यालास र फोर्ट वर्थ क्षेत्र बाढीको चेतावनीमा रहेको छ । ओक्लाहोमा शहरमा अप्रिल महिनामा इतिहासकै सबैभन्दा भिजेको किर्तिमान तोडेको छ।

यो प्रकोप अझै पूर्वतर्फ सरि रहेको छ भने लुजियाना, टेनेसी र ओहायो क्षेत्रका शहरहरू बुधबार देखि बिहीबारसम्म उच्च जोखिममा रहेका छन्।

प्रतिक्रिया