अमेरिकाको अदालतमा उपस्थित हुने आप्रवासीहरूलाई पक्राउ गरी तुरुन्तै निर्वासनका लागि थुनिँदै गरिएको नयाँ अभ्यासले आप्रवासीहरूलाई कानुनी प्रक्रिया नै नपाउँदै देशनिकाला गर्ने रणनीति बनेको छ।
एनबिसीन्यूजका अनुसार २२ वर्षीय क्युबाली युवा जुलियो डेविड पेरेज रोड्रिगेज गत हप्ता मायामीको अध्यागमन सुनुवाइपछि उत्तोलक (लिफ्ट)मै समातिए। उनले आँशु झार्दै भने, “यदि मैले केही गलत गरेकै छैन भने किन मलाई हतकडी लगाइएको?” उनको पक्राउको श्रब्यदृश्य (भिडियो)व्यापक भएको छ ।
एनबिसीन्यूजले जनाए अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक निर्वासन अभियान अन्तर्गत यस्ता घटनाहरू हालै अमेरिका भर फैलिएका छन्। अदालतमा शरण लिन पुगेका आप्रवासीहरू, जसको मुद्दा खारेज वा बन्द गरिएको छ, उनीहरूलाई मुद्दा सकिनासाथ प्रहरीको नियन्त्रणमा लिइँदैछ।
“उनीहरू कानुनी प्रक्रिया पूरा गरिरहेका थिए, तर अब अदालतकै ढोकामा समातिन्छन्,” अमेरिकी अध्यागमन वकिल संघका वरिष्ठ निर्देशक ग्रेगोरी चेनले बताए।
आइसिइ अधिकारीहरूले अदालतमा मौखिक रूपमा मुद्दा खारेज गर्न अनुरोध गर्छन् । न्यायाधीशहरूले लिखित निवेदन बिना नै तुरुन्तै खारेज गरिदिन्छन्, जुन प्रक्रियागत निर्देशन पुस्तिकाको उल्लंघन हो। त्यसपछि सादा पोशाकमा रहेका अधिकारीहरूले तुरुन्तै ती व्यक्तिलाई पक्राउ गर्छन् र “तीव्र निर्वासन” प्रक्रियामा लैजान्छन्।
धेरैजसो पक्राउ परेकाहरू अपराधमा संलग्न नभए पनि ट्रम्प प्रशासनले बाइडेन कालमा प्रवेश गरेका र दुई वर्ष नपुगेका आप्रवासीहरूलाई प्राथमिक निशाना बनाएको अधिकारकर्मीहरूको भनाइ छ।
यस्तो कार्यले संविधानले प्रत्याभूत गरेको निष्पक्ष कानुनी प्रक्रियालाई नै खारेज गरिरहेको भन्दै आप्रवासी अधिकारकर्मीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
प्रतिक्रिया