२ वर्षीया अमेरिकी नागरिक बालिकालाई बिना उचित प्रक्रिया जबर्जस्ती देश निकाला : संघीय न्यायाधीशले सरकारलाई बोलाइन अदालत

इनेप्लिज २०८२ वैशाख १३ गते ११:२० मा प्रकाशित

शुक्रबार एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनले २ वर्षीया अमेरिकी नागरिक बालिकालाई “कुनै अर्थपूर्ण कानुनी प्रक्रिया बिना” होन्डुरस देश निकाला गरि दिएको गम्भीर आशंका व्यक्त गरेका छन् । संघीय न्यायाधीशले सरकारलाई अदालत सुनुवाईको लागि बोलाएकी छन् ।

“भी.एम.एल” भनेर पहिचान गरिएकी ती बालिका यस हप्ता न्यू अर्लियन्समा नियमित आप्रवासन जाँचका क्रममा आफ्नो अवैध रुपमा बसोबास गरिरहेकी आमा र दिदीसँगै थुनिएकी थिइन्।

बालिकाका बाबुले थाहा पाएपछि आफ्ना वकिलमार्फत अध्यागमन अधिकारीलाई जानकारी गराएका थिए । उनले वकिललाई भी.एम.एल अमेरिकी नागरिक भएको र उनलाई देश निकाला गर्न पाइँदैन भनेका थिए ।

अदालतका कागजात अनुसार, सोही दिन साँझ करिब ७:३० बजे एक आइसिइ अधिकृतले भी.एम.एलका बाबुलाई दूरवार्ता (फोन) गरी भने, “तपाईकी श्रीमती यहाँ हुनुहुन्छ, तर धेरै समय छैन, हामी तपाईकी जीवनसाथी र छोरीहरूलाई देश निकाला गर्दैछौं।”

बालिकाका बाबुले उनलाई लिन प्रयास गर्दा अधिकारीहरूले भने, “यदि तपाई आउनुभयो भने तपाईलाई पनि हिरासतमा लिइनेछ।”

पारिवारिक साथीले बालिकाको अस्थायी संरक्षणको लागि अदालतमा तात्कालिक आदेश माग गर्नुको साथै बालिका हिरासतमा हुँदा अपूरणीय क्षतिको सामना गरिरहेकी बताएका थिए ।

तर न्याय विभागका वकिलहरूले जवाफ दिँदै भने, “भी.एम.एल.लाई उनकी आमासँग रहनु नै हितकर हुनेछ र अमेरिकी नागरिक भएकाले उनलाई गम्भीर क्षतिको जोखिम छैन।”

तर अदालतले हस्तक्षेप गर्नु अघि नै ती दुई वर्षीया बालिका, उनकी आमा र दिदीलाई एकैसाथ होन्डुरस देश निकाला गरिएको अमेरिकी नागरिक स्वतन्त्रता संघले जनाएको छ।

अमेरिकी नागरिक स्वतन्त्रता संघका अनुसार यी घटनाले “गम्भीर संवैधानिक प्रक्रियागत प्रश्नहरू” उब्जाएका छन्।

अमेरिकी जिल्ला न्यायाधीश टेरी डटीका अनुसार बालिकाकी आमासँग सम्पर्क प्रयास गरिएको तर सरकारी वकिलहरूले उनी होन्डुरस पठाई सकिएको बताएका छन् ।

न्यायाधीश डटीले मे १६ मा सुनुवाइ तय गर्दै भनिन् , “सरकारले अमेरिकी नागरिकलाई बिना उचित प्रक्रिया जबर्जस्ती देश निकाला गरेको हाम्रो गम्भीर आशंकालाई हटाउन यो कदम चालिएको हो।”

प्रतिक्रिया