गाजाका लागि शान्तिको प्रयास : ट्रम्प समर्थित ६०-दिने युद्धविराम प्रस्ताव, बन्धक-स्वतन्त्रता आदान प्रदान सहित

इनेप्लिज २०८२ जेठ १७ गते ११:०६ मा प्रकाशित

अमेरिकाले गाजा युद्ध अन्त्यका लागि ६० दिनको युद्धविरामप्रस्ताव गर्दै पहिलो सातामै २८ इजरायली बन्धक (जिउँदो तथा मृत) को रिहाइको बदलामा १,२३६ जना प्यालेस्टिनी बन्दी र १८० मृतकको अवशेष फिर्ता गर्ने योजना अघि सारेको छ।

यो दस्तावेज राष्ट्रपति डोनाल्ड ट्रम्पको साथै इजिप्ट र कतारका मध्यस्थकर्ताहरूको प्रत्याभूति (ग्यारेन्टी)मा आधारित रहेको रोयटर्सले जनाएको छ।

हमासले युद्धविराम सम्झौतामा हस्ताक्षर गरे लगत्तै त्यसपछि मानवीय सहायता तुरुन्तै गाजामा पठाइनेछ। इजरायली सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री नेतन्याहूले गाजामा रहेका बन्धकका परिवारलाई जानकारी दिँदै राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ विटकोफको प्रस्ताव इजरायलले स्वीकार गरिसकेको बताएका छन्।

हमासले यो प्रस्तावको अध्ययन भइरहेको र शुक्रबार वा शनिबार प्रतिक्रिया दिने बताएको छ।

योजना अनुसार, स्थायी युद्धविराम लागू भएपछि बाँकी रहेका अन्तिम ३० इजरायली बन्धकहरू पनि हमासले छोड्नेछ। त्यसैबेला इजरायलले गाजामा सबै सैन्य गतिविधि रोक्नेछ।

तर अघिल्ला प्रयासहरूमा हमास र इजरायलबीच गहिरो मतभेदका कारण सम्झौता असफल हुँदै आएको छ। इजरायलले हमासलाई पूर्ण रूपमा निशस्त्र र शासनबाट हट्नुपर्ने माग राखेको छ, तर हमासले यसलाई अस्वीकार गर्दै इजरायली फौज पूर्ण रूपमा गाजाबाट फिर्ता हुनु पर्ने अडान राखेको छ।

गत अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा ५४,००० भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ।

प्रतिक्रिया