आज सोमबार मार्च २४ का दिन साउदी अरबको राजधानी रियाधमा अमेरिकी र रूसी वार्ताकारबीच वार्ता पुनः सुरु भएको छ, जसको उद्देश्य युक्रेनमाथि मस्कोको तीन वर्षदेखिको युद्ध अन्त्य गर्न युद्धविराम र शान्ति सम्झौतामा सहमति जुटाउनु हो।
यस वार्तामा ऊर्जा पूर्वाधारहरूलाई लक्षित आक्रमणहरूमा रोक लगाउने प्रस्ताव मुख्य विषय रहने अपेक्षा गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त योजनालाई आंशिक समर्थन जनाइ सकेका छन्।
रूसी सरकारी समाचार संस्था टासका अनुसार सोमबार बिहानदेखि रियाधमा बन्द कोठामा यी वार्ता सुरु भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूत स्टीभ विटकफले आइतबार एक अन्तर्वार्तामा वार्तामा प्रगतिको आशा व्यक्त गर्दै भने, “शक्ति मार्फत शान्तिको नीति अपनाउँदा विभिन्न पक्षहरू भ्रम हटाउन र शान्ति सम्झौता गर्न वार्तामा सहभागी हुन्छन्।”
युक्रेनी रक्षा मन्त्री रुस्टेम उमेरोभले पनि राष्ट्रपति जेलेन्स्कीलाई आइतबारको अमेरिकी-युक्रेनी वार्ता “निकै उपयोगी” भएको भन्दै जानकारी गराएका थिए। तर जेलेन्स्कीले भने, “वार्ता जे-जस्तो भए पनि पुटिनले आक्रमण रोक्न वास्तविक आदेश दिनुपर्छ। जसले यो युद्ध सुरु गर्यो, उसैले अन्त्य गर्नुपर्छ।”
यद्यपि दूत विटकफका अन्य भनाईले युक्रेन र पश्चिमी देशहरूलाई चिन्ता पैदा गरेको छ। उनले रूसद्वारा २०१४ देखि कब्जा गरिएका क्षेत्रहरूमा आयोजित तथाकथित जनमत संग्रहलाई समर्थन जनाउँदै ती क्षेत्रहरू रूसी शासनमा रहन चाहेको दाबी गरे। तर ती जनमत संग्रहलाई पश्चिमी राष्ट्रहरूले “अवैध र ठगीपूर्ण” भन्दै अस्वीकार गरेका छन्।
यसैबीच, सीमा पार मानव रहित यान (ड्रोन) आक्रमणहरू जारी छन्। आइतबार राति रूसले युक्रेनमा ९९ वटा मानव रहित यानबाट आक्रमण गरेको र ९३ वटा खसालिएको युक्रेनी वायु सेनाले जनाएको छ। रूसले पनि युक्रेनी ड्रोन आक्रमणमा २८ मानव रहित यान (ड्रोन )नष्ट गरेको दाबी गरेको छ।
प्रतिक्रिया