इराक र सिरियामा आईएसआइएसका नेताहरु सैन्य कारबाहीमा मारिएको पेन्टागनले जनाएको छ।
अमेरिकी नेतृत्वको गठबन्धन सेनासँगै इराकी राष्ट्रिय गुप्तचर सेवाका सदस्यहरूले गरेको कारबाहीमा इराक र सिरियामा इस्लामिक स्टेट(आइएस)का प्रमुख मारिएको अमेरिकी केन्द्रीय कमाण्ड र इराकी प्रधानमन्त्रीले शुक्रबार घोषणा गरेका छन्।
यो कारबाही अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम ) तथा इराकी राष्ट्रिय गुप्तचर सेवाको सहकार्यमा इराकको अल-अनबर प्रान्तमा गरिएको थियो। अमेरिकी सेनाले यसलाई “प्रिसिजन एयरस्ट्राइक” (सटीक हवाई आक्रमण) को रूपमा परिभाषित गरेको छ।
अबु खादिजा, जसको वास्तविक नाम अब्दल्लाह माकी मोसलेह अल-रिफाइ हो । उनि आइएसआइएस संगठनका विश्वव्यापी रूपमा प्रभावशाली सदस्यहरूमध्ये एक मानिन्थ्यो। उनी इराकमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै खतरनाक आतंकवादीको रूपमा परिचित थिए।
यो आक्रमण पछि अमेरिकी र इराकी सेनाले स्थल कारबाही गर्दै दुबै मृत आतंकवादीहरूलाई फेला पारे, जसमा अबु खादिजा पनि थिए। सेनाले बताए अनुसार, ती आतंककारीहरूले आत्मघाती गन्जी लगाएका थिए । सिबिएसन्यूजका अनुसार उनीहरूसँग थुप्रै हतियारहरू पनि थिए। खादिजाको पहिचान डीएनए परीक्षणबाट पुष्टि गरिएको छ ।
अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख सेनापति माइकल एरिक कुरिल्लाले यो सफलता आतंकवादविरुद्धको मिसनमा महत्त्वपूर्ण चरण भएको बताएका छन्। उनले भने, “हामी आतंकवादीहरूलाई समाप्त गर्न र ती संगठनहरूलाई ध्वस्त पार्न निरन्तर लागिरहनेछौं, जसले हाम्रो मातृभूमि, अमेरिकी सेनाका सदस्यहरू, र हाम्रा साझेदारहरूलाई खतरामा पार्छ।”
सिरिया र इराकले आइएसआइएस विरुद्ध संयुक्त रूपमा लड्ने प्रतिज्ञा गर्दै आतंकवादविरुद्धको लडाइलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया