प्रधानमन्त्री ओलीसँग नेपाली राजदूत रेग्मी,मानार्थ वाणिज्य दूत केसी तथा नेपाल-अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष साखको भेटघाट

इनेप्लिज २०८१ फागुन १६ गते १:३९ मा प्रकाशित

अमेरिकाका लागि नव नियुक्त नेपाली राजदूत लोक दर्शन रेग्मी,म्यासाचुसेट्सका लागि नेपाली मानार्थ वाणिज्य दूत प्रल्हाद केसी तथा नेपाल-अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरण साखले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई उनको सरकारी निवास बालुवाटारमा भेटघाट गरेका छन् ।

गत फेब्रुअरी २१, २०२५ मा भएको उक्त भेटमा मुख्य रूपमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो। वार्तामा व्यापार तथा लगानी रूपरेखा सम्झौता (टिफा )लाई अघि बढाउने, ७७ वस्तुमा सीमित नेपालबाट अमेरिकामा निर्यात गर्न सकिने शुल्कमुक्त वस्तुहरूको सूची विस्तार गर्ने र डिसेम्बर २०२५ मा म्याद समाप्त हुने नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटिपिपि )को नवीकरणका लागि पहल गर्ने विषयहरूमा केन्द्रित छलफल भएको थियो।

यस अवसरमा मानार्थ वाणिज्य दूत प्रल्हाद केसीले म्यासाचुसेट्स राज्यको तर्फबाट सम्माननीय प्रधानमन्त्रीलाई औपचारिक सम्मान पत्रहरू (साईटेसन) प्रदान गरे। ती सम्मान पत्रहरूमा प्लाइमथ नगर, म्यासाचुसेट्स राज्य प्रतिनिधि सभा, र राज्य लेखा परीक्षक कार्यालयबाट प्रदान गरिएका मान्यताहरू समावेश थिए। सम्मान पत्रमार्फत प्रधानमन्त्री ओलीको सेप्टेम्बर २०२४ मा म्यासाचुसेट्सको आधिकारिक भ्रमणको स्मरण गरिएको थियो।

भेटघाटले नेपाल-अमेरिका व्यापार सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता र द्विपक्षीय आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्यलाई उजागर गरेको छ ।

तस्बिर तथा समाचार कृतज्ञता : मानार्थ वाणिज्य दूत प्रल्हाद केसी

प्रतिक्रिया