अमेरिकी संघीय न्याय विभागले न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिसा जेम्सविरुद्ध आपराधिक छानबिन सुरु गरेको छ। फक्स न्यूजका अनुसार यो छानबिन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा रहेका संघीय आवास बित्तिय निकाय (फेडरल हाउसिङ फाइनान्स एजेन्सी)का निर्देशक विलियम पल्टेले दिएको आपराधिक सिफारिसपछि अघि बढाइएको हो।
जेम्समाथि भर्जिनियास्थित एउटा एकल परिवारको घरलाई आफू बसोबास गर्ने मुख्य ठेगाना झुटो देखाएर ऋणमा विशेष छुट लिएको दाबी गरिएको दाबी गरिएको छ । साथै, अर्काे घटनामा न्यूयोर्कको ब्रुकलिनस्थित बहु-परिवार आवासीय घरमा उपलब्ध बास योग्य इकाईको संख्या बढाएर देखाउँदै लाभदायक ऋण शर्त प्राप्त गर्न खोजेको आरोप पनि छ।
जेम्सकी वकिल एबी लोवेलले यी आरोपहरूलाई “झुटा र पूर्वमै खारेज गरिएका” भन्दै खारेज गरेका छन्। उनले भने, “ राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा केही दिनअघि जेम्समाथि गरिएको सार्वजनिक आक्रमणपछि यस्ता राजनीतिक प्रतिशोधका प्रयासहरू पुनः देखा पर्न थालेका छन्।”
लोवेलका अनुसार, जेम्सले भर्जिनियाको सम्पत्ति प्राथमिक आवास हो भन्ने उल्लेख गल्तीले पावर-अफ-अटर्नी(अधिकार प्रत्यायोजन पत्र) पत्रमा भएको हो, जबकि अन्य कागजातहरूमा उनले त्यसलाई प्राथमिक आवास नरहेको उल्लेख गरिसकेकी थिइन्।
जेम्स, जसले ट्रम्प र ट्रम्प संगठन विरुद्ध धोखाधडी सम्बन्धी मुद्दा दायर गरेकी थिइन्, अहिले त्यो मुद्दाको अपिल प्रक्रियामा छिन्। यस अनुसन्धानले अमेरिकी न्याय प्रणालीमा राजनीति घुसपैठ भएको वा नभएको बहसलाई पुनः ताजा बनाएको छ।
प्रतिक्रिया