न्यूयोर्कमा आयोजना भइरहेको श्रीस्वस्थानी व्रतकथा महोत्सव २०२५ दोस्रो हप्तासम्म आइपुग्दा उल्लेखनीय सफलता प्राप्त गर्न सफल भएको छ। जनवरी २७, २०२५ सम्ममा नेपाली मन्दिर, समुदाय, र सांस्कृतिक केन्द्र निर्माणका लागि लगभग ५९,००० अमेरिकी डलर कोष संकलन भइसकेको छ।
यस हप्ताको सबैभन्दा ठूलो योगदान स्थानीय बासिन्दा बसुदेव र सीता तिमलसिना परिवार बाट प्राप्त भएको छ। तिमलसिना परिवारले चार हज़ार अमेरिकी डलर ($4,000) सहयोग प्रदान गर्दै नेपाली समुदायको उत्थानमा महत्वपूर्ण योगदान गरेका छन्। कास्की जिल्ला, नेपाल मूल घर रहेका उनीहरू झण्डै २० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्।
सीता तिमलसिना, जो हाल रिजउड, न्यूयोर्कको Wyckoff अस्पतालमा नर्स (Registered Nurse) को रूपमा कार्यरत छिन्, नेपालिज अमेरिकन नर्सेस एसोसिएसन (NAAN) की सक्रिय सदस्य पनि हुन्। उनी समुदायका विभिन्न कार्यहरूमा स्वेच्छिक रूपमा संलग्न भई नेपाली परम्परा, संस्कृति, र सामुदायिक विकासका लागि निरन्तर योगदान दिँदै आएकी छिन्।
सीता तिमलसिनाले आफ्ना विचार व्यक्त गर्दै भन्नुभयो, “हामी प्रवासमा रहे पनि हाम्रो जरा नेपालमा नै छ। हाम्रो भाषा, धर्म, संस्कृति, र परम्पराको जर्गेना हाम्रो कर्तव्य हो। न्यूयोर्कमा नेपाली मन्दिर र सांस्कृतिक केन्द्र निर्माण हुनु भनेको हाम्रो पुस्ताका लागि मात्र नभई आउने पुस्ताहरूको लागि समेत गहिरो महत्व राख्छ। यस पुण्य कार्यमा सानो वा ठूलो जसरी भए पनि योगदान दिनु हाम्रा लागि गर्वको विषय हो। यस महोत्सवमा सकेको सहयोग गरेर हामी सबै मिलेर आफ्नो पहिचान बचाउने, संलग्न हुने, र नयाँ पुस्तालाई पनि यस अभियानमा जोड्ने प्रयास गरौँ।”
उनको योगदानको प्रशंसा गर्दै NAAN की संस्थापक अध्यक्ष तथा न्यूयोर्क श्रीस्वस्थानी महोत्सवकी रणनीति तथा सम्पर्क समिति सदस्य सुनिता भण्डारी ले भन्नुभयो, “सीता तिमलसिना नेपाली समुदायको उत्थान, प्रवर्द्धन, र सशक्तिकरणका लागि निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उहाँको योगदान हाम्रो समुदायको लागि अत्यन्त प्रेरणादायी छ।”
सीता तिमलसिना मात्र होइन, हाम्रो समाजमा यस्ता धेरै उदाहरणीय व्यक्तित्वहरू छन्, जसले आफ्नो परिश्रम, समय, र आर्थिक सहयोगमार्फत नेपाली समुदायलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। उनीहरूजस्तै, हामी सबै मिलेर आफ्नो ठाउँबाट सकेको योगदान गर्न सक्छौँ। कोही समय दिएर, कोही श्रम दिएर, त कोही आर्थिक रूपमा सहयोग गरेर— हरेक प्रयासको महत्त्व उत्तिकै हुन्छ। सीता तिमलसिना हामी सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको योगदानबाट सिक्दै, हामी पनि आफ्नो संस्कृति, समुदाय, र भविष्यका पुस्ताहरूको लागि केही योगदान गर्न अग्रसर बनौँ।
अर्को दाता प्रदिप खिम्दुङज्यूले दुई हजार एक सय एघार अमेरिकी डलर ($2111) को दान गर्नुभएको छ। यसले समुदायको एकतामा थप महत्त्वपूर्ण योगदान पुर्याएको छ। खोटाङ जिल्ला, नेपालका मूल निवासी, र २००८ देखि आफ्नो पत्नी सजन योंघाङ र छोरी मिसाम खिम्दुङसँग न्यूयोर्कको क्विन्समा बसोबास गर्दै आएका प्रदिप खिम्दुङज्यूले आफ्नो खुशी व्यक्त गर्दै भन्नुभयो, ‘रिजउड नेपाली समाजले सारा न्यूयोर्क नेपाली समाजलाई जडान गर्दै गएको देखेर म निकै खुशी छु। साथै, म यहाँ आज आएर यो महा अभियानमा योगदान दिन पाउँदा पनि खुशी छु, र यो सबै मेरो प्रिय मित्र र व्यापारिक सहयात्री परसु राम पन्तीजीजको मेहनतले सम्भव बनाएको हो। आगामी दिनहरूमा पनि म समुदायको राम्रो कामको लागि सहयोग गर्दै जानेछु र सकेसम्म योगदान पुर्याउनेछु।’
समाजसेवी र न्यूयोर्क श्रीस्वस्थानी महोत्सव आयोजक रणनीति र सम्पर्क समिति सदस्य परसु राम पन्तीजीले प्रदिप खिम्दुङज्यूलाई धन्यवाद व्यक्त गर्दै भन्नुभयो, ‘प्रदिपजीलाई धन्यवाद दिन चाहन्छु कि उहाँले आफू अस्वस्थ भएको बेलामा पनि हाम्रो महान अभियानमा साथ दिन आउनुभयो। प्रदिप खिम्दुङज्यूको समुदायको एकताप्रति गहिरो कदर र भविष्यका कार्यहरूमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धतासँग जोडिएको छ। रिजउड बाहिर बसेका उहाँ जस्ता व्यक्तित्वहरूको योगदानले हामीलाई थप प्रेरणा दिएको छ। हामीलाई खुशी छ कि अब हामी रिजउडमा मात्र होइन, अन्य स्थानका नेपालीलाई पनि यस अभियानमा जोड्न सक्छौं। यदि हामी सबै मिलेर यो महा अभियानमा अघि बढ्न सके भने, हामी पक्का सफल हुनेछौं।’
उहाँले थप्नुभयो, ‘हामी भाग्यशाली छौं कि प्रत्येक दिन स्वास्थानी व्रत कथा गर्दैछौं र सबैलाई यस पवित्र अवसरमा सहभागी हुन र आशीर्वाद प्राप्त गर्न प्रोत्साहित गर्दछौं। म सबैलाई आग्रह गर्दछु कि मन्दिर र सांस्कृतिक केन्द्र निर्माणका लागि एउटा ईंटा दान गर्नोस्। यो हाम्रो साझा प्रयासको अंश बन्ने अवसर हो।
यस ऐतिहासिक महोत्सवमा समुदायका विभिन्न संघसंस्था, स्थानीय बासिन्दाहरू, तथा नेपाली समुदायका सदस्यहरूले निरन्तर सहयोग गरिरहेका छन्। आयोजकहरूले आगामी दिनहरूमा अझ बढी सहभागिता र समर्थनको अपेक्षा गर्दै निरन्तर सहयोगका लागि सबैलाई अपिल गरेका छन्।
साथै $500 भन्दा वढी दान गर्ने दाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरिनेछ साथै दाताहरुको दान रकम दुर्गा मन्दिर एवं नेपाली सामुदायिक तथा साँस्कृतिक केन्द्रको दाताहरुको लिष्टमा थप गरिनेछ ।
कर्ता बस्न समय नमिलेमा दुर्गा मन्दिर एवं सामुदायिक तथा सांस्कृतिक भवन पुननिर्माण अभियानका निम्ति यस यज्ञ मार्फ़त दान गर्न सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले तथा मन्दिर पुनर्निर्माणको लागि दान गर्न इच्छुक दाताहरुले यस समाजका कार्यसमिती सदस्यहरु वा मन्दिर व्यवस्थापन तथा संचालन समितीका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
रिजउड नेपाली समाज, दुर्गा मन्दिर तथा बिभिन्न संघसंस्था एवं मिडिया पाटनर्सहरुको संयुक्त सहकार्यमा आयोजित ‘न्यूयोर्क श्रीस्वस्थानी व्रतकथा महोत्सव” जनवरी १३ देखि फेब्रुअरी १२, २०२५ सम्म प्रत्येक दिन साँझ ७:०० देखि ९:०० बजेसम्म आयोजना भइरहेको छ। महोत्सवको प्रमुख उद्देश्य नेपाली समुदायलाई धार्मिक, सांस्कृतिक, र सामाजिक रूपमा एकत्रित गर्दै न्यूयोर्कमा नेपाली मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणका लागि कोष संकलन गर्नु हो।
श्रीस्वस्थानी ब्रत कथा हिन्दू धर्ममा विशेष महत्त्व राख्ने धार्मिक ग्रन्थ हो, जसमा महादेव र पार्वतीको कथा समाविष्ट छ। यो कथा सुन्ने तथा ब्रत बस्ने परम्पराले भक्तजनहरूलाई आत्मशुद्धि, समर्पण, र पारिवारिक समृद्धि प्रदान गर्ने विश्वास गरिन्छ। महोत्सवमा सहभागी भई स्वयम् सेवामा योगदान पुर्याउनु तथा आर्थिक सहयोग गर्नु नेपाली पहिचानको संरक्षण र भावी पुस्ताको लागि मार्गदर्शन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
प्रतिक्रिया