न्यूयोर्क शहरमा ल्होसारलाई ‘बिदा’ को मान्यता

इनेप्लिज २०८१ माघ १२ गते ११:३५ मा प्रकाशित

न्यूयोर्क शहरले ल्होसारलाई ‘बिदा’ को मान्यता दिएको छ । गत बिहीबार, जनवरी २३ मा न्युयोर्क सिटी काउन्सिलले लोसार पर्वको दिनमा वैकल्पिक साइड पार्किङ नियम (Alternate Side Parking) निलम्बन गर्ने भएको छ।

कोरियाली मूलका काउन्सिल सदस्य जुली वोनले दर्ता गरेको बिधेयक (Intro-100) आज सिटी काउन्सिलबाट सर्वसम्मत पारित भए पछि हिमाली समुदायको प्रमुख चाड लोसार (नयाँ वर्ष) पनि न्युयोर्क सिटीको वैकल्पिक साइड पार्किङ चाड (Alternate Side Parking Holiday) को रुपमा सुचिकृत हुन पुगेको छ।

न्युयोर्क शहरको फोहोर मैला प्रवन्ध बिभागले दैनिक सरसफाई गर्दाका क्रममा सडकमा पार्क गरेका गाडीहरु हटाउनु पर्ने नियम छ । तर अब देखि लोसारको पहिलो दिनमा सडकमा पार्क गरेको गाडी हटाउने झन्झट नभएको हुनाले ढुक्कै सँग गाडी पार्क गरेर लोसर मनाउन पाउने भएको छ।

सिटी काउन्सिलको बैठक पछि काउन्सिल सदस्य जुली वोन र हिमाली समुदायले सिटी काउन्सिलको प्रांगणमा ऐतिहासिक विजयोत्सव र्‍यालीको आयोजना गरेको थियो। धेरै परिषद सदस्यहरूका साथमा लोसार मनाउने समुदायका करीब २०० सदस्यहरू यस ऐतिहासिक उत्सबमा उपस्थित थिए।

उपस्थित हिमाली समुदायलाई संबोधन गर्दै काउन्सिल सदस्य जुली वोनले भने। ” न्युयोर्क सिटीमा नेपाल, तिब्बत, भुटान, मंगोलिया, भारत, र अन्य देशहरूबाट आएका बौद्धहरूका लागि पहिलो र एकमात्र ASP छुट्टी हो। मेरो डिस्ट्रिक्ट र न्यूयोर्क शहर भरिका ६१,००० भन्दा बढी न्यूयोर्कवासीहरूले तिब्बती बौद्ध नयाँ वर्ष लोसार मनाउँछन्। यो ऐतिहासिक बिल तिब्बती र हिमाली समुदायको लागि पहिलो र विशिष्ट ASP चाड हो। हाम्रो तिब्बती र हिमाली समुदायको लागि यो बिल कोसेढुङ्गा पनि हो। हिमाली समुदाय सँग लोसार मनाउन पाउँदा र उनीहरूको सँस्कृति सम्मान गर्न पाउँदा मलाई गर्वको अनुभूति भएको छ।”

कार्यक्रममा सिटी काउन्सिल यातायात समितिका अध्सक्ष सेलभिना ब्रुक्स पावर, भारतीय मूलका पहिलो काउन्सिल मेम्बर शेकर कृष्नन, काउन्सिल मेम्बर नार्सिस मर्सिडिस्, काउन्सिल मेम्बर, लिन्डा ली, लगायत नेपाली, तिब्बती र अन्य हिमाली समुदायका प्रतिनिधिहरु गेशे टाशी दोर्जे, एकाम्पनी क्यापिटलका कार्यकारी निर्देशक याङ्की छिरिङ्, दोखाम क्षुशी गाङड्रुकका अध्यक्ष नोर्बु ल्हामो, न्यूयोर्क न्युजर्सी तिब्बती समुदायका अध्यक्ष नुर्बु छोजुङ, शेर्पा किदुगका महासचिव साङ दोर्जे शेर्पा, गुरुङ तमु समाजका अध्यक्ष ओम गुरुङ, र भुटानीज कम्युनिटीका अध्यक्ष उलप लेकी, एनएसएसपीका अध्यक्ष दालामु शेर्पाले पनि संबोधन गरेका थिए। तिब्बती साँस्कृतिक मामला संबन्धी निर्देशक डोल्मा रिन्जिनले परम पावन दलाई लामा र तिब्बती निर्वासित सरकारका सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा हिमाली सिंह नाच र तिब्बती परम्परागत नामतर गाना प्रस्तुत गरिएको थियो ।

यो लोसार बिधेयक (Intro-100) लाई काउन्सिल मेम्बर जुली वन सहित कूल ४० सह-प्रायोजकहरुको व्यापक समर्थन रहेको थिसो । जसमा न्युयोर्कका पाँच बोरोहरू मध्ये क्वीन्स, ब्रुकलिन, र म्यानहट्टन बोरो अध्यक्षहरूका ३७ काउन्सिल सदस्यहरू रहेका छन्। जनवरी २३ मा भएको नगर परिषदको बैठकमा उपस्थित ४८ जना सदस्यहरुको सर्वसम्मतिबाट यो बिल पारित भएको थियो ।

न्युयोर्कको शेर्पा किदुग लगायता संघ संस्थाहरुले सन् २०१७ देखि लोसार चाडलाई पहिचान दिलाउने अभियान थालेका थिए।

हिमाली चन्द्र पात्रोको पहिलो दिन देखि १५ दिन सम्म मनाइने ल्होसार हिमाली समुदायको प्रमुख चाड हो। हर्ष र उल्लासको वातावरणमा नयाँ वर्षको शुभारम्भ गर्ने पर्व हो । ल्होसारको पहिलो दिन परम्परागत रूपमा घरमै बसेर परिवारसँग रमाइलो वातावरणमा मनाइन्छ । दोस्रो दिनदेखि १५ दिन सम्म गुम्बामा गई शान्ति पुजा गर्ने, ठुलाबडा र मान्यजनहरु सँग भेटेर आशीर्वाद ग्रहण गर्ने र एक अर्कामा शुभकामना र कोशेली साटासाट गर्ने गर्दछन् । चाडको पुरै अवधि भोज भतेर, नाचगान र मनोरन्जनमा बित्दछ । यस वर्षको ल्होसार फेब्रुअरी २८ को दिन परेको छ।

प्रतिक्रिया