मेरिल्याण्डका नेपाली चिकित्सकहरुले नेपाली समुदायको लागि खोले प्राथमिक उपचारकक्ष ,उद्घाटनमा नेपाली समुदायको बाक्लो उपस्थिति

इनेप्लिज २०८१ मंसिर ३ गते ०:५० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका नेपाली चिकित्सकहरुले नेपाली समुदायको सेवाको प्राथमिक उपचारकक्ष खोलेका छन् । नोभेम्बर १७ आइतबारका दिन विधिवत रुपमा उद्घाटन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

मेरिल्याण्ड राज्यको व्हाइट मार्श नामक शहरमा स्थापना गरिएको उक्त उपचारगृह(क्लिनिक)को नामाकरण मेरिल्याण्ड प्राइमरी केयर क्लिनिक राखिएको छ । व्हाइट मार्श स्थित मेरिल्याण्ड प्राइमरी केयर क्लिनिकको उद्घाटन कार्यवाहक राजदूत शरद राज आरन ,मेरिल्याण्डका नेपाली मूलका सांसद डा ह्यारी भण्डारी ,मेरिल्याण्डकै बिदेशी मूलका सांसदले सयुक्त रुपमा गरेका थिए ।

उक्त उपचार कक्षमा फित्ता (रिबन )काटे पछि त्यहाँ उपस्थित कार्यवाहक राजदूत शरद राज आरन ,डा ह्यारी भण्डारी ,नगर परिषद सदस्य ,चिकित्सक डिल्ली पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यवाहक राजदूत शरद राज आरन ,डा ह्यारी भण्डारी ,नगर परिषद सदस्य ,सांसदले शुभकामना दिनुको साथै नगर परिसद,मेरिल्याण्ड बिधान सभा र ,डा ह्यारी भण्डारीले समेत मेरिल्याण्ड प्राइमरी केयर क्लिनिकलाई सम्मान गरेका थिए ।

उद्घाटन पछि उक्त उपचारकक्षमा संलग्न चिकित्सक पौडेलले अतिथिहरुलाई उपचार कक्षको भ्रमण गराउदै जानकारी दिएका थिए । साथै सांसद ,नगर परिसद सदस्यले जिज्ञासा समेत राखेका थिए भने चिकित्सक पौडेलले खोल्नुको उद्धेश्य र टोलीले कसरी काम गर्ने आदी इत्यादीको बारेमा प्रकाश परेका थिए ।

डा पौडेलले हाल उनि स्वयम र अनुभवी नर्स प्राक्टिसनर (एआरएनपी )लता श्रेष्ठ प्रधान रहेको तर अन्य स्वास्थ्यकर्मीहरु पनि जोडिएको उनले बताए । एआरएनपी लता श्रेष्ठ प्रधानले सबै नेपालीहरुलाई राम्रो सेवा प्रदान गरिने विश्वास दिलाउदै सबैलाई सहयोग र साथ दिन आग्रह गरिन ।

साथै आगामी मंगलबार देखि विधिवत रुपमा उपचार कक्ष प्रारम्भ गरिने डा पौडेलले जानकारी दिनुको साथै नेपाली समुदायको लागि मात्र नभएर अन्य सबै समुदायलाई पनि सेवा गर्ने लक्ष्य भएको बताए । बिरामीहरुको चाप अनुसार थप जनशक्ति पनि वृद्धि गरिने चिकित्सक पौडेलले स्पष्ट पारे ।

उपचारगृह(क्लिनिक)को रिबन काट्ने कार्यक्रम पछि त्यही नजिक रहेको नेपालीहरुले संचालनमा ल्याएको चमेनागृहमा आमन्त्रित नेपालीहरुको उपस्थितिमा औपचारिक कार्यक्रम गरियो ।

त्यहाँ पनि ठूलो कैचीले कार्यवाहक राजदूत शरद राज आरन तथा मेरिल्याण्ड राज्य निर्वाचन क्षेत्र ८ का बिधान सभा सदस्य डा ह्यारी भण्डारीले उद्घाटन गरेका थिए । डा भण्डारीले स्थापना मात्र गरेर नहुने यसलाई साथ र सहयोग गर्नु पर्ने कुरा औलाए ।

उक्त औपचारिक कार्यक्रममा बिभिन्न संघ/संस्थाको तर्फबाट करिव आधा दर्जन प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

मेरिल्याण्डको छाता संगठन बानाका अध्यक्ष सुबोध पन्त ,एनआरएनए मेरिल्याण्डका अध्यक्ष कूल गुरुङ ,हिन्दु बुद्ध मन्दिरको तर्फबाट तरुण पौडेल तथा सृजन ताम्राकार ,सुदुर पश्चिम समाज मेरिल्याण्डका संस्थापक दमन बिक्रम शाह लगायतले खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए । शाहले आफू नै योउपचारकक्षको ग्राहक बन्ने सोच बनाएको बताए । नेपाली चिकित्सक नहुँदा आफ्नो ८२ बर्षिय पिताले पाएको दुखको बारेमा छोटो कथा सुनाए ।

कार्यक्रम पश्च्यात त्यहाँ उपस्थित समुदायले डा पौडेल लगायतलाई समेत जिज्ञासा राखेका थिए ।

मेरिल्याण्ड प्राइमरी केयर क्लिनिक तथा औपचारिक उद्घाटन कार्यक्रम दुवैमा उपचारकक्ष व्यवस्थापनमा संलग्न रहेका सूर्योदय तिम्सिना तथा हेमन्त तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए । सूर्योदय तिम्सिना तथा हेमन्त तिमिल्सिनाले यो खोल्न लगभग ३ बर्ष भन्दा ज्यादा समय लागेको बताए । साथै बिगत २ बर्ष देखि अनुमतिको प्रक्रिया अगाडी बढ्दै जाँदा बहाल तिर्दै आएको समेत जानकारी गराए ।

कार्यक्रम पश्च्यात दिवा भोजनको आयोजना समेत गरिएको थियो ।

प्रतिक्रिया