अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा यस बर्ष पनि गाई नै ल्याई गाईको पूजा गरिएको छ । गत बर्ष बाल्टिमोर क्षेत्रका नेपाली समुदायले धुमधामसँग नेपाल जस्तै गरि गाई पूजा गरेका थिए भने यस पटक पनि मन्दिर व्यवस्थापनले दुईवटा बाछी ल्याई दिए पछि पूजा गरेका छन् ।
गत बर्ष अमेरिकामा सम्भवत गाई नै ल्याई पहिलो पटक गाईलाई भौतिक रुपमा पूजा अर्चना गर्दै गाई तिहार मनाईएको थियो । गत बर्ष त्यहाँ आएका धेरै नेपाली समुदायले नेपाल छोडेको कैयौ बर्ष पछि गाई पूजा गर्दै गाई तिहार मनाउन पाउँदा खुसी हुँदै आयोजकलाई धन्यबाद दिएका थिए ।
प्रत्यक्ष गाई पूजा गर्दा दोश्रो पुस्ता बालबालिकाहरु खुसी भएका छन् । बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरको प्राङ्गणमा दुई वटा कालो रंगका बाछी ल्याइएको गाई पूजा गराउने जिम्मा हिन्दु बुद्ध मन्दिर तथा सन् २०१२ मा स्थापित पर्वत समाज अमेरिकाले गरेका थिए । यस बर्ष पनि पर्वत समाजले नै गाई ल्याएको हो ।
पर्वत समाजका अध्यक्ष रबिन शर्माले नेपाली समुदायको लागि दोश्रो बर्ष पनि गाईको प्रवन्ध गर्न पाईएको हर्ष व्यक्त गर्दै यसलाई निरन्तरता दिने बताए । दोश्रो पुस्ताले नेपालीहरुको दोश्रो ठूलो महान चाड तिहारमा गाई पूजा गरिने र यसको महत्व पनि बुझुन भन्ने उद्धेश्यले गाई ल्याईएको शर्माले बताए ।
नोभेम्बर २ शनिबारका दिन बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म गाई पूजा गरियो । हिन्दु बुद्ध मन्दिरका स्वयम सेवक तरुण पौडेलले अमेरिकामा सम्भवत पहिलो पटक गत बर्ष देखि सुरु गरिएको गाई पूजालाई यस बर्ष पनि निरन्तरता दिन सकिएकोले नेपाली समुदायले अत्यन्तै सकारात्मक लिएको बताए ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । नेपालमा घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गै गाईको पूजाआजा गर्ने गरिन्छ । गाईको पूजा गरी गाईलाई मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।
गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो । गाईबाट प्राप्त हुने दूध, दही, घ्यु, गहुँत, गोबर आदि वस्तु प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । नेपालमा गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।
प्रतिक्रिया