बेइजिङ — चीनले आइतवार अमेरिकी रक्षा सचिव पिट हेगसेथलाई कडा शब्दमा आलोचना गरेको छ। हेगसेथले चीनलाई खतरा भनेको प्रति आपत्ति जनाउँदै चीनले उनलाई “शीतयुद्धको मानसिकता फैलाउने” आरोप लगाएको छ। अमेरिकासँगको चर्किदो तनावबीच चीनको परराष्ट्र मन्त्रालयले उक्त प्रतिक्रिया दिएको हो।
शनिबार सिंगापुरमा आयोजित ‘शाङ्ग्रि-ला संवाद’ नामक अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा हेगसेथले चीनविरुद्ध “निन्दात्मक आरोप” लगाएको भन्दै बेइजिङले आपत्ति जनाएको हो। चीनले अमेरिकालाई एशिया–प्रशान्त क्षेत्रमा द्वन्द्व र टकराव भड्काउने प्रयास गरिरहेको आरोप पनि लगाएको छ।
“हेगसेथले क्षेत्रीय मुलुकहरूको शान्ति र विकासको चाहना बेवास्ता गर्दै शीतयुद्धको मानसिकताबाट गुटगत टकरावको प्रवर्द्धन गरेका छन्,” वक्तव्यमा भनिएको छ।
एपीका अनुसार चीनले अमेरिका बाहेक अरू कुनै मुलुकले आधिपत्यशाली शक्तिको पदवी पाउने हकदार नभएको पनि दाबी गरेको छ। चीनका अनुसार अमेरिका आफैंले एशिया–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व कमजोर बनाइरहेको छ।
हेगसेथले भने, “चीनको सेनाले वास्तविक युद्धका लागि अभ्यास गरिरहेको छ। हामी कुरा लुकाउने छैनौं—चीनले उपस्थित गराएको खतरा वास्तविक हो र नजिकिन पनि सक्छ।”
चीनले ताइवान मुद्दालाई आफ्नो पूर्ण आन्तरिक मामिला बताउँदै अमेरिकालाई “आगो खेल्न नखोज्न” चेतावनी दिएको छ। अमेरिकाले दक्षिण चीन सागरमा आक्रामक हतियार तैनाथ गरेको, तनाव भड्काएको, र सम्पूर्ण क्षेत्रलाई “बारूदको ढिस्को” बनाउँदै लगेको आरोप लगाएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गत महिनामात्रै दुबै देशबीच व्यापारमा अस्थायी सम्झौता भएको थियो, जसअनुसार ट्रम्पले अमेरिकी ट्यारिफ १४५% बाट ३०% मा झारेका थिए र चीनले पनि अमेरिकी सामानमा कर १२५% बाट १०% मा घटाएको थियो।
प्रतिक्रिया