युक्रेनको एक अतिथी गृहमा रुसी आक्रमण हुँदा बेलायती पत्रकार टोलीका एक सदस्यको मृत्यु , युक्रेनी आक्रमणबाट रुसमा ५ जनाको ज्यान गयो

इनेप्लिज २०८१ भदौ ९ गते २२:५० मा प्रकाशित

युक्रेनको क्रामाटोर्स्क शहरको एक होटल(अतिथी गृहमा)मा रुसी सेनाले रातभर आक्रमण गर्दा बेलायती पत्रकार टोलीका एक सदस्यको मृत्यु भएको रोयटर्स समाचार एजेन्सीले पुष्टि गरेको छ ।

रुसी क्षेप्यास्त्र प्रहार हुँदा पत्रकारहरूको टोलीसँग काम गर्ने बेलायती सुरक्षा सल्लाहकारको मृत्यु भएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

३८ वर्षीय रायन इभान्स युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा सहकर्मीहरूसँग अतिथिगृहमा बसिरहेका बेला शनिबार राति रुसी क्षेप्यास्त्र प्रहार भएको थियो ।

छ व्यक्ति सहित रोयटर्स चालक दलका अन्य दुई सदस्यहरू घाइते भएका थिए।

स्थानीय अधिकारीहरूका अनुसार रुसले प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल)ले प्रहार गरेको र पत्रकारहरूको शरीरमा चोटपटक लागेको बताए।

अतिथि गृह बाहेक, नजिकैको ठूलो बहुतला भवन पनि ध्वस्त भएको डोनेट्स्क क्षेत्रीय गभर्नर भाडिम फिलास्किनले बताए।

युक्रेनको पूर्वी खार्किभ क्षेत्र पनि रुसी आक्रमणबाट आगोको चपेटामा परेको र जसको परिणामस्वरूप धेरै नागरिक घाइते भएको क्षेत्रीय गभर्नर ओलेह सिनेहुबोभले आइतबार टेलिग्राममा लेखेका छन् ।

खार्किभको चुहुइभ क्षेत्रमा रुसी आक्रमणबाट दुई घरमा आक्रमण हुँदा ४ वर्षीय बालक र १४ वर्षीया किशोरीसहित पाँच जना घाइते भएका छन् ।

खार्किभ शहरमा रुसी आक्रमणबाट दुई तले घरमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । रुसको सीमा क्षेत्र बेलगोरोडमा युक्रेनी गोलाबारीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन्।

युक्रेनी सीमाबाट ३८ किलोमिटर (२३ माईल) टाढा रहेको रुसी गाउँ राकिटोनमा अन्य १२ जना घाइते भएका छन्, जसमा एक १६ वर्षीया केटीको अवस्था गम्भीर रहेको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आइतबार बताए ।

अर्को व्यक्ति पनि सोलोभेभकाको सीमा गाउँमा छुट्टै मानव रहित यान (ड्रोन )आक्रमणमा परि ज्यान गएको बताए ।

प्रतिक्रिया