नाइजेरियाको मध्य भागमा आएको विनाशकारी बाढीले कम्तीमा १५१ जनाको ज्यान लिएको छ । साथै ३,००० भन्दा बढी मानिसलाई विस्थापित बनाएको अल जजिराले जनाएको छ । स्थानीय अधिकारीहरूले जनाए अनुसार उद्धार टोली अझै पनि शवहरू फेला पार्दै र हराइरहेका व्यक्तिको खोजी गरि रहेका छन् ।
बाढीले सबभन्दा धेरै क्षति मोक्वा भन्ने गाउँमा गरेको छ, जुन नाइजर राज्यमा पर्छ। बुधबार रातिबाट सुरु भएको मुसलधारे वर्षा बिहीबारसम्म जारी रह्यो। नाइजर राज्य आपतकालीन व्यवस्थापन निकायका प्रवक्ता इब्राहिम अडु हुसेनीका अनुसार केही शवहरू मोक्वाबाट १० किलोमिटर टाढा फेला परेका छन्।
२६५ घर पूर्ण रूपमा ध्वस्तभएको बताइएको छ भने धेरै मानिसहरूलाई नाइजर नदीले बगाएको आशंका गरिएको छ ।
राष्ट्रपति बोला टिनुबुले गहिरो समवेदना प्रकट गर्दै उद्धार कार्यमा सुरक्षा बलहरू संलग्न रहेको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखे, “राहत सामग्री र अस्थायी बासको व्यवस्था ढिला नगरी पठाइँदैछ।”
स्थानीय बासिन्दा मोहम्मद टाङ्कोले भने, “हामीले सबै कुरा गुमायौं—परिवार र सम्पत्ति। अब बस्ने ठाउँ पनि छैन।” अर्की पीडित महिला भन्छिन्, “म रातको कपडामा मात्र भागें, अहिले हाम्रो घर कहाँ थियो भन्ने पनि थाहा छैन।”
जलवायु परिवर्तन, अव्यवस्थित निर्माण र कमजोर ढल निकास प्रणालीका कारण यस्ता बाढीहरू बारम्बार र थप खतरनाक बन्दै गइरहेका छन् । मौसमविद्हरूले अझै वर्षा हुने चेतावनी दिएका छन्।
प्रतिक्रिया