फिफा विश्व भकुण्डो छनोट खेलमा यूएईद्वारा नेपाल ४-० गोलले पराजित

इनेप्लिज २०८१ जेठ २४ गते २३:४४ मा प्रकाशित

हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १८ गोल खाएको छ

यूएईले नेपाललाई ४-० गोलले हराएको छ । फिफा विश्वकप फुटबल(भकुण्डो )२०२६ को छनोट खेलमा बिहीबार यूएईसँग नेपाल पराजित भएको छ ।

साउदी अरबमा सम्पन्न खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ४–० गोलले हराएको हो ।

एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा नेपालको यो समेत लगातार पाँचौँ पराजय हो । साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद रंगशालामा भएको खेलमा युएईले मध्यान्तर अगाडी २ र मध्यान्तर पछि २ गोल गर्‍यो ।

मध्यान्तर अगाडी युएईका लागि दुबै गोल हरिब अब्दल्लाले गरेका हुन् । खेल सुरु भएको १२औँ मिनेटमै उनले टोलीलाई अग्रता दिलाएका थिए । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४-० ले नै पराजित भएको थियो ।

मध्यान्तर अगाडी नेपालले पनि गोल गर्ने राम्रो अवसर पाएको थियो । तर नेपाल असफल भयो । एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ ।

हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १८ गोल खाएको छ । नेपाली टोली यसअघि यूएईसँग ४–० गोल र यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपालले बहराइनसँग भने क्रमशः ५–० गोल र ३–० गोलले हार भोगेको थियो । समूह ‘एच’ मा पाँच खेल खेलेको यूएई १५ अंकसहित पहिलो स्थानमा छ । यूएई विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेको छ ।

प्रतिक्रिया