काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ। संघका अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वको टोलीले राष्ट्र बैङ्कको बालुवाटारस्थित कार्यालय पुगेर उनलाई बधाई दिएको हो।
उक्त अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा आर्थिक विकासका नयाँ सम्भावना खुल्न सक्ने उल्लेख गर्दै एनआरएनएका तर्फबाट लगानी भित्र्याउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “गैर आवासीय नेपालीहरू विदेशमा आर्जन गरेको पुँजी, सीप र अनुभवलाई देशको विकासमा प्रयोग गर्न इच्छुक छन् । राष्ट्र बैङ्कले नीतिगत रूपमा आवश्यक सहजीकरण गरिदिने विश्वास लिएका छौँ।”
अध्यक्ष श्रेष्ठले हाल विश्वका ८० भन्दा बढी देशमा फैलिएका एनआरएनहरू नेपालमा उद्योग, पर्यटन, सूचना प्रविधि, ऊर्जा, पूर्वाधार तथा वित्तीय क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए । यस्तो लगानी सुरक्षित, पारदर्शी र प्रतिफलमुखी हुने सुनिश्चितताका लागि राष्ट्र बैङ्कको नीतिगत स्पष्टता अपरिहार्य रहेको उनले बताए। उनले गत साता सार्वजनिक गरिएको नेपाल सरकारको बजेट वक्तव्यमा एनआरएनहरू प्रति लक्षित सकारात्मक निर्णयहरूको एनआरएनएले स्वागत गरेको बताउँदै नेपाली सरह एनआरएनहरूलाई पनि नेपालमा लगानी गर्ने वातावरण बनाउन आग्रह गरे।
अध्यक्ष श्रेष्ठसँगै एनआरएनए उपाध्यक्ष मनोज गोर्खाली, एनआरएनए उच्चस्तरीय समितिका सदस्यहरू विनोद कुँवर, रविना थापा, जानकी गुरुङ लगायत पुगेका थिए ।
गभर्नर डा. पौडेलले गैर आवासीय नेपालीहरूको सद्भाव र सक्रियता प्रति आभार प्रकट गर्दै राष्ट्र बैङ्क सधैँ सकारात्मक एवं सहकार्यपूर्ण भूमिकामा रहने बताए। उनले भने, “देशको दीर्घकालीन आर्थिक विकासमा एनआरएनहरूको योगदान उल्लेखनीय बन्न सक्छ। लगानीमैत्री वातावरण सिर्जना गर्ने दिशामा राष्ट्र बैङ्कले आवश्यक पहल गर्नेछ ।”
गभर्नर पौडेलले एनआरएनएसँग नियमित संवादमार्फत नेपालमा लगानीलाई आकर्षक बनाउन उपयुक्त नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी तथा व्यवसाय गर्न कुनै समस्या आएको भए त्यसमा सहजीकरण गर्न राष्ट्र बैङ्क सधैँ तयार रहेको पनि बताए।
प्रतिक्रिया